१ सय ८९ जनाको आँखा परीक्षण गर्दा १० प्रतिशतमा मोतियाविन्दुको समस्या

१ सय ८९ जनाको आँखा परीक्षण गर्दा १० प्रतिशतमा मोतियाविन्दुको समस्या

काठमाडौँ :  एभरेस्ट अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा आँखा जँचाउने ६० प्रतिशतमा आँखा सुक्खा हुने समस्या देखियो। अस्पतालले १ सय ८९ जनाको परीक्षण गरेकोमा करिब ३० प्रतिशतमा सामान्य दृष्टि समस्या, १० प्रतिशतमा मोतियाविन्दु र ६० प्रतिशत व्यक्तिहरूको आँखा सुक्खा हुने समस्या देखिएको हो। 

अस्पतालका निर्देशक एवं प्रशासन प्रमुख दीपकचन्द्र बरालका अनुसार शिविरमा १ सय १२ जनाले मिर्गौला जाँच गराउँदा जसमा ५९ जनामा मधुमेह, कोर्टिकल सिस्ट, उच्च रक्तचाप जस्ता समस्याहरू देखिएका थिए। 

दन्त शिविर तर्फ १ सय २२ जनाको जाँच तथा उपचार गरिएको थियो। जाँच गराउन आउनेहरूमा दाँत किराले खाने, गिजा सम्बन्धी समस्या बढी देखिएको थियो। 

 

निःशुल्क प्रयोगशाला परीक्षणमा १ सय ६४ जना व्यक्तिहरूले रगतको जाँच गरिएको थियो। त्यसमा ब्लड सुगर, युरिया, क्रियाटिनन् लगायतका जाँच भएको अस्पतालले जनाएको छ। सहुलियत दरको अल्ट्रासाउन्ड सेवामा १ सय ५२ जनाले सेवा लिए।

शनिवार अस्पतालले ब्लड बैङ्क सेवा, हेमोडायलासिस सेवा सँगै दन्त विभाग, नेत्र विभाग र आइसियु विभागको औपचारिक शुभारम्भ गरेको थियो। शुक्रवार पदबाट राजीनामा दिएका स्वास्थ्य मन्त्री प्रदीप यादवले ती विभागहरूको उद्घाटन गरेका थिए।

आइतबार अस्पतालले आयोजना गरेको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा ४ सय २१ जनाले स्वास्थ्य जाँच गराएका थिए भने १ सय २६ जनाले रक्तदान गर्दा २ सय ७५ युनिट रगत सङ्कलन भएको थियो।

असार २२, २०८१ आइतबार २२:२५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।