एमाले-काङ्ग्रेस गठबन्धनमा मन्त्रीको खोजी : गृहमा रमेश लेखक, एमाले अर्थमन्त्री खोज्दै, परराष्ट्रमा अञ्जना !

एमाले-काङ्ग्रेस गठबन्धनमा मन्त्रीको खोजी : गृहमा रमेश लेखक, एमाले अर्थमन्त्री खोज्दै, परराष्ट्रमा अञ्जना !

काठमाडौँ : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत टुङ्गिएपछि मात्रै दलहरुबीच मन्त्रालय बाँडफाँडको विषय टुङ्गिने बताए।

प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेबीचको सहमति अनुसार पहिला एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए।

अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि निर्णयमा नपुगेको दाबी गरे।

‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौँ। २८ गते प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबन्डा टुङ्गो लगाउँछौँ’ उनले भने।

को-को छन् दाबेदार?

विश्वसस्रोतका अनुसार कांग्रेस र एमालेबीच गृह मन्त्रालय कांग्रेसले र अर्थ एमालेले लिने सहमति भइसकेको छ। काङ्ग्रेसभित्र गृहमा रमेश लेखकलाई उपप्रधानसहित सरकारको नेतृत्व गराएर पठाउनेबारे छलफल जारी छ। एमाले अध्यक्ष केपी ओली काङ्ग्रेसबाट गगन थापाको नेतृत्वमा मन्त्रीहरू सरकारमा आउन् भन्ने चाहन्छन्। यसले उपप्रधानसहित कुन मन्त्रालय लिएर सरकारमा जानेबारे काङ्ग्रेसभित्र अलमल देखिन्छ।

कांग्रेसमा शेखर, शशाङ्क, कृष्ण सिटौला समूहबाट सरकारमा प्रतिनिधित्व गराउने बाध्यतामा छन् देउवा। सरकारमा सहभागिताबारे नेता शेखर कोइराला, शशाङ्क कोइरालासँग गम्भीर परामर्श भएको देखिएन। 

स्वास्थ्यमा प्रदीप पौडेलले इच्छा देखाएका छन्। तर निर्णय भइसकेको छैन। कांग्रेस महामन्त्री गगन थापाले अब सरकारमा नयाँ अनुहारलाई पठाउने दाबी गरेका छन्। तर सो अनुसार छलफल अगाडि बढेको भने देखिएन। चन्द्र भण्डारी यस पटक मन्त्री बन्न सक्छन्। उनलाई मन्त्री बनाउनेबारे ओलीले नै चासो राखेको विश्वस्तस्रोतले बतायो।

‘माओवादी नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई नदोहोर्याउने नीति छ,’ सरकार गठनबारे जानकार एक नेताले भने’ तर अहिले नै त्यो कार्यान्वयन हुन्छ भन्न सक्ने अवस्था भने देखिँदैन।‘

एमालेभित्र अर्थमन्त्रीको खोजी

एमालेमा अर्थमन्त्रीको रूपमा विष्णु पौडेलको नाम चर्चामा छ। तर जानकारस्रोतको दाबी सत्य हो भने यस पटक पार्टी अध्यक्ष केपी ओली पौडेलको विकल्पको खोजीमा छन्।

पार्टीका मुख्य सचेतक बर्तौला आफैँ मन्त्री बन्न इच्छुक छन्। तर ओलीबाट उनले वचन भने पाइसकेका छैनन्। माओवादी गठबन्धनमा मन्त्री बनेकामध्ये कानुनमन्त्री पदम गिरी काङ्ग्रेस-एमाले गठबन्धनमा पनि दोहोरिँदै छन्। सञ्चार र पर्यटनमध्ये एक मन्त्रालयको नेतृत्व लिएर सरकारमा सहभागी हुने सम्भावना रहेको उनी निकट स्रोतले बतायो।

उनी माओवादीसँगको पहिलो गठबन्धनमा स्वास्थ्य र दोस्रो गठबन्धनमा कानूनमन्त्री भएका थिए। राष्ट्रिय सभा सदस्य बनेकी अञ्जना शाक्य परराष्ट्र मन्त्री हुने सम्भावना छ। 'परराष्ट्रमा शाक्यको नामबारे छलफल भइरहेको छ' छलफलबारे जानकारस्रोतले उकेरासँग भन्यो।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड घुस मागेको विवादमा राजीनामा दिएका गोकुल बास्कोटा पनि यस पटक मन्त्री हुने सूचीमा छन्। योगेश भट्टराई यस पटक पुन मन्त्री बन्न सक्छन्।

असार २२, २०८१ आइतबार १८:३७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।