त्रिवि शिक्षण अस्पतालबाट २८७ जनाले कान सुन्न 'कक्लियर इप्लान्ट' लगाए

त्रिवि शिक्षण अस्पतालबाट २८७ जनाले कान सुन्न 'कक्लियर इप्लान्ट' लगाए

काठमाडौं : नाक, कान, घाटी तथा कक्लियर इम्प्लान्ट विशेषज्ञ डा. रबिन्द्रभक्त प्रधानाङ्गले हालसम्म त्रिवि शिक्षण अस्पतालबाट दुई सय ८७ जनाले कक्लियर इप्लान्ट लगाएको बताएका छन्। 

त्रिवि शिक्षण अस्पतालमा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सो कक्लियर इम्प्लान्ट कार्यक्रम २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा कक्लियर इम्प्लान्ट कार्यक्रमका सदस्य सचिव समेत रहका प्रधानाङ्गले पछिल्लो समय कक्लियर इप्लान्टको यो सेवा वार्षिक ४०/४५ जनाले लिइरहेको बताए। 

कक्लियर इम्प्लान्ट कार्यक्रम (प्राविधिक समिति)का सदस्य सचिव तथा त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाटी तथा कक्लियर इम्प्लान्ट विशेषज्ञ डा.प्रधानाङ्गले क्लियर इम्प्लाण्ट पूर्ण रुपमा कान नसुन्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने एक आधुनिक यन्त्र भएको बताए। जुन सेवा २०६१ मा प्रा.डा.राकेश प्रसाद श्रीवास्तवको नेतृत्वमा भारतीय चिकित्सकको सहकार्यमा त्रिवि शिक्षण अस्पतालमा शुरु भएको हो। 

नेपाल सरकारको तर्फबाट आर्थिक वर्ष २०७४/०७५ मा कक्लियर इम्प्लान्ट कार्यक्रम सञ्चालनका लागि निश्चित बजेटको व्यवस्था भई हालसम्म यो कार्यक्रमले निरन्तरता पाइरहेको डा. प्रधानाङ्गले जानकारी दिए।

पूर्णरुपमा कान नसुन्ने व्यक्तिको शल्यक्रियागरी कक्लियर इम्प्लाण्ट लगाएर कान सुन्न सक्ने बनाउने कार्यमा दश बर्षदेखि कक्लियर इम्प्लाण्ट नेपाल समूहले समेत सक्रिय भूमिका खेलिरहेको उनको भनाइ छ। 

प्रधानाङ्गले जन्मजात कान नसुन्ने (कन्जेनाइटल हियरिङ्ग लस भएका) बालबालिकाहरूलाई कक्लियर इम्प्लाण्टको प्रयोगबाट सुन्न सक्ने बनाउन सकिने र बोली विकासको तालिम (स्पिच थेरापी) दिएर बोली लगायत भाषाको विकास गर्न सकिने बताए। तीन वर्षको उमेरभन्दा अगाडि नै शल्यक्रिया गरी कक्लियर इम्प्लान राखिएको खण्डमा बोली विकास राम्रो हुने उनको भनाइ छ।

करिब सात वर्षको उमेर सम्ममा मस्तिष्कको नयाँ विकास गर्ने क्षमता (न्युरल प्लाष्टिसिटी) गुमाइसक्ने हुनाले सात वर्षको उमेरपछि शल्यक्रियागरी सुन्ने यस्तो विधि अपनाउँदा सुन्नमा मद्दत गरेपनि बोलीको विकास राम्रो नहुन सक्ने उनी बताउँछन्।

डा. प्रधानाङ्गका अनुसार सामान्य सुनाई भई बोलीको पूर्ण विकास पश्चात् बहिरो भएको खण्डमा पनि कक्लियर इम्प्लान्टबाट सुन्ने क्षमता फर्काउन सकिन्छ। चोटपटक, ट्यूमर, भित्री कानको रोग वा पाको उमेरको कारणबाट सुन्ने शक्ति कम भई ‘हियरिङ्ग एड’को प्रयोगबाट सुनाईमा उपलब्धी हुन सकेन भने कक्लियर इम्प्लान्टनै यसको सहि समाधान भएको उनी बताउँछन्। कक्लियर इम्प्लान्टबाट सुनिने इलेक्ट्रोनिक आवाज अलि फरक किसिमको हुने भएकोले शल्यक्रियापछि केही हप्ता तालिम (स्पीच थेरापी) को आवश्यकता पर्छ।

डा. प्रधानाङ्गले नेपालमा यो प्रविधिले कम प्राथमिकता पाएको बताए। यो प्रविधि उपयोग गर्न मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न लाग्ने खर्च, इम्प्लाण्टको मूल्य, शल्यक्रिया खर्च र शल्यक्रियापछि गरिनुपर्ने म्यापिङ्ग तथा थेरापीको खर्च जोड्ने हो भने मध्यम वर्गीय नेपाली परिवारलाई समेत गाह्रो पर्ने डा. प्रधानाङ्ग बताउँछन्। त्यसैले नेपाल सरकारको योजनामा यसलाई राख्न जरुरत रहेको उनको बुझाइ छ। 

कक्लियर इम्प्लान्ट लगाउने शल्यक्रियापछि आवश्यक पर्ने बोली भाषाको तालिम लिन काठमाडौं बस्नुपर्ने विवशतालाई हटाउनको लागि संघ, प्रदेश र स्थानीय तहमा पुन:स्थापना केन्द्रको संचालन गर्न पनि अति आवश्यक भएको उनी बताउँछन्। 

कानको भित्री भाग कक्लिया नबनेर वा कानको भित्री भाग (कक्लिया) बाट सूचनालाई मस्तिष्कसम्म पुर्याउने नशा (कक्लिएर नर्भ) नभएर जन्मजात नसुन्ने समस्या भएको खण्डमा कक्लियर इम्प्लान्ट पद्धतिले काम नगर्ने उनले बताए। शल्यक्रियापछि आवश्यक बोली भाषाको तालिम लिन नसक्नेहरुले यो पद्धति वा सेवा नलिनु नै उचित हुने डा. प्रधानाङ्गको सुझाव छ।

के हो कक्लिया?
मान्छेको कानभित्र जाली छ भन्ने धेरैले सुनेको हुन्छौं। तर, जालीले नै आवाज सुनिन्छ भन्नु भ्रम मात्र भएको रवीन्द्र बताउँछन्। 

डा. रवीन्द्रका अनुसार कानभित्र कक्लिया हुन्छ। यसैले सुन्ने काम गर्छ। सुनाइसँग सम्बन्धित प्रमुख अङ्ग नै कानभित्र हुने कक्लिया हो। कक्लिया बिग्रियो भने व्यक्तिको श्रवणशक्ति गुम्छ। 

कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कक्लियर इम्प्लान्ट गर्नुपर्ने हुन्छ। कक्लियर इम्प्लान्ट भनेको मान्छेले बनाएको कृत्रिम कान हो। जुन कानले प्राकृतिक रूपमा बनेको कान जस्तै काम गर्छ। कक्लियर इम्प्लान्ट संयन्त्र कानको शल्यक्रिया गरी फिट गरिन्छ। 

यसले बाहिरको ध्वनिलाई कानको कक्लियामा फिट गरेको कक्लियर इम्प्लान्टको इलेक्ट्रोडमा पुर्याउँछ। यसले प्राकृतिक कक्लियाले जस्तै काम गर्छ। 

असार २३, २०८१ आइतबार १०:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।