पानामालाई ५-० गोलले हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

पानामालाई ५-० गोलले हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

काठमाडौं : कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। 

अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा पानामामाथि ५-० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोल थपेको थियो।

जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। १५ औं मिनेटमा कोलम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो। 

कोलम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरेका थिए। ४१ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रता लियो।

दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो। 

अतिरिक्त समयको चौथो मिनेटमा कोलम्बियाका लागि मिगुएल ब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कन पुग्यो।

कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेको विजेतासँग खेल्ने छ।

असार २२, २०८१ आइतबार ०७:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।