ओलीलाई बालेनले भने 'तपाईंले पचाउन खोज्नुभएको गिरीबन्धुमा काठमाडौंका १५ हजार परिवार व्यवस्थापन हुनसक्छ'

ओलीलाई बालेनले भने 'तपाईंले पचाउन खोज्नुभएको गिरीबन्धुमा काठमाडौंका १५ हजार परिवार व्यवस्थापन हुनसक्छ'

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणसँग जोडेर फेरि कटाक्ष गरेका छन्। 

शनिबार बेलुका उनले सामाजिक सञ्जालमा बर्षाका कारण काठमाडौं मात्र लगभग २ हजार परिवार प्रभावित भएको भन्दै गिरीबन्धु टी स्टेटमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताए। 

'काठमाडौँमा लगभग २ हजार परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईंले पचाउन खोज्नु भएको गिरीबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ', उनले लेखेका छन्। 

उनले राखेको उक्त पोस्टमा ओलीलाई सम्बोधन गरिएको छ।

 'अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो?,' उनले सोधेका छन्।

वर्षामा कतिपय बस्ती डुबानमा परेको भन्दै उनले लेखेका छन्, '...आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो।

ओलीलाई अब  दुइतिहाइको प्रधानमन्त्री बन्न लागेको भन्दै यो समस्या समाधानको लागि आफूले अपेक्षा गरेको बालेनले लेखेका छन्।  

असार २१, २०८१ शनिबार २२:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।