एकीकृत समाजवादीको केन्द्रीय समितिमा नपरेपछि आलेले भने- अब पदाधिकारी दिएपनि त्यो पार्टीमा बस्दिनँ

एकीकृत समाजवादीको केन्द्रीय समितिमा नपरेपछि आलेले भने- अब पदाधिकारी दिएपनि त्यो पार्टीमा बस्दिनँ

काठमाडौं : एकीकृत समाजवादीका नेता प्रेम आलेले अब पार्टीमा नफर्किने बताएका छन्। 

पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको भन्दै देश बाहिर गएका आलेले अब पार्टीसँग कुनै साइनो नरहेको बताए। 

‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ?,’ उनले भने।

एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा दसौं महाधिवेशन गरेको थियो। तर, आले भने महाधिवेशनमा सहभागी नभई भारत भ्रमणमा गएका थिए।

उनी बिहीबार भारतबाट स्वदेश फर्केका थिए।

पूर्वमन्त्री समेत रहेका उनले पार्टीको केन्द्रीय सदस्य होइन पदाधिकारी नै दिएपनि आफूलाई स्वीकार्य नभएको बताए। 

एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम अटाइएको छैन। तर, उनले आफू पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न इच्छुक नरहेको बताए। 

उनले भने, ‘मलाई केन्द्रीय कमिटीको सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरिन ।’ 

असार २२, २०८१ शनिबार २१:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।