'ओली भष्मासुर भएर निस्किए, उनकै कारण दुईतिहाइको कम्युनिष्ट सरकार ढल्यो'

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिँदै ओलीले गरेको संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको बताएका छन्।
शनिबार पार्टीको प्रवासी नेपाली मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।
उनले भने, ‘नेकपा हुँदाखेरी १० लाख पार्टी सदस्यहरू थियौं। संघीय संसदमा हामी करिब दुईतिहाइ बहुमतमा थियौं। र, सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौं। ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौं। देश बाममय बन्दै गइरहेको थियो। तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्यायौं, उनी निस्किए–भष्मासुर। यो भष्मासुरको कारणले गर्दाखेरी आफ्नै बहुमत मात्रै होइन, दुईतिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो।
उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट बिद्रोह गर्नुपरेको बताए।
असार २२, २०८१ शनिबार २०:२४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।