माओवादीलाई कांग्रेसको जबाफ : संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ

माओवादीलाई कांग्रेसको जबाफ : संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ

काठमाडौं : चौतर्फी रूपमा शंका-उपशंकाको विषय बन्न थालेपछि नेपाली कांग्रेसले आफूहरूको समर्थनमा अबको सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने बताएको छ। 

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने जिकिर गरे। 

उनले संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि त्यस सरकारको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिनै पूरा गरिसकेको तर्क गरे। 

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन्। सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ।

तर, प्रमुख सचेतक लेखकले भने कांग्रेस र एमालेबीचको नयाँ सरकार बन्न ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै गठन हुने बताए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए। 

राष्ट्रिय सहमतिको सरकार निर्माणको जुन सहमति भएको छ, कांग्रेस र एमालेबीच त्यो सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकार हो। त्यो सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वमा बन्छ। अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले यसै असार २८ गतेका दिनमा विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुने गरी संसद् सचिवालयमा पठाउनुभएको छ। आजको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ उनले भने।  

असार २१, २०८१ शनिबार १९:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।