'कांग्रेस-एमाले गठबन्धनबाट देउवा प्रधानमन्त्री बन्नसक्ने' संकेत गरेपछि प्रचण्डले शेखरलाई भेट्न बोलाए

'कांग्रेस-एमाले गठबन्धनबाट देउवा प्रधानमन्त्री बन्नसक्ने' संकेत गरेपछि प्रचण्डले शेखरलाई भेट्न बोलाए

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुशी हुने अवस्था नरहेको टिप्पणी गरे। त्यसको भोलिपल्ट नेता कोइरालालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट बोलाएपछि यी दुईबीच भेटवार्ता भएको छ। 

शनिबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।

गएको सोमबार कांग्रेस-एमालेबीचमा सरकार बनाउने गरी गठबन्धन बनेको छ। गठबन्धनले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको बताइएको छ। तर, संविधानतः ओली प्रधानमन्त्री बन्ने निश्चित नभएको बहससमेत सुरू भइरहेको छ। 

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेका हुन्। सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको जिकिर छ। राष्ट्रपतिले ७६ (३) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

यही सन्दर्भमा नेता कोइरालाले पनि ओली प्रधानमन्त्री बनिहाल्ने परिस्थिति नरहेको संकेत गरेका थिए। 

उनले भनेका थिए, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ? भन्ने हामीले सोच्नुपर्छ। हामी संविधानलाई टेकेर हिँड्नुपर्छ। प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस्।’

यता, दुई पार्टीले पटकपटक अनुरोध गर्दासमेत प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका छैनन्। उनले यही २८ गते संसदबाट विश्वासको मत लिने बताएका छन्। 

अहिले प्रधानमन्त्री प्रचण्डसँग उनको दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र साथमा छन्। यी दलले भने प्रचण्डलाई संसद्को अन्तिम समयसम्म रहने र विश्वासको पक्षमा मतदान गर्ने जिकिर गरेका छन्। तर, एमालेसहित जनता समाजवादी पार्टी लगायतले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको हुँदा प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ।

तथापि प्रधानमन्त्री प्रचण्ड भने सकेसम्म ओलीलाई सत्ता सुम्पिने पक्षमा छैनन्। त्यसैको कारण पनि आज शेखरसँगको भेट भएको हुनसक्ने चर्चा भइरहेको छ। 

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाएका थिए। यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। तर, कोइरालाले भने यसलाई एउटा स्वाभाविक भेटघाटका रूपमा मात्रै लिन आग्रह गरे। 

असार २१, २०८१ शनिबार १७:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।