कोपा अमेरिका : भेनेजुएलालाई हराउँदै क्यानडा सेमिफाइनलमा
काठमाडौं : क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार विहान भएको खेलमा भेनेजुएलालाई सडनडेथमा ४-३ गोल अन्तरले पराजित गर्दै क्यानडाले अन्तिम चारमा स्थान पक्का गरेको हो।
निर्धारित समय १-१ गोलको बराबरी भए पछि खेलको नतिजा सडनडेथमा निकालिएको हो।
जसमा क्यानडाका ६ मध्ये चार खेलाडीले गोल गर्दा भेनेजुएलाका ३ खेलाडीले मात्रै गोल गर्न सकेका थिए।
निर्धारित ९० मिनेटको खेलमा क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलमार्फत अग्रता लिएको थियो।
भेनेजुएलाले ६५ औं मिनेटमा सालोमन रोन्डोनले गोल गरेपछि खेल बराबरीमा आएको थियो। त्यसपछि खेल पेनाल्टी सुटआउट हुँदै सडन डेथबाट खेलको नतिजा क्यानडाको पक्षमा पुग्यो।
पेनाल्टी सुटआउटमा दुवै टिमले ३-३ गोल गरेका थिए। त्यसपछि सडनडेथमा पुगेको थियो।
सडनडेथमा भेनेजुएलाका लागि छैटौं पेनाल्टी विल्कर एन्जेलले गर्न असफल भएका थिए। तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट गोल गर्दै अन्ततः क्यानडालाई ४-३ ले जीत दिलाए।
सेमिफाइनलमा क्यानडाले अर्जेन्टिनाको सामाना गर्ने छ। यी दुई टिम समूह चरणमा पनि भिडेका थिए। समूह चरणमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गरेको थियो।
असार २२, २०८१ शनिबार १२:३८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।