हेटौंडा-काठमाडौं जोड्ने तीन मार्ग अवरुद्ध

हेटौंडा-काठमाडौं जोड्ने तीन मार्ग अवरुद्ध
फाइल तस्बिर

मकवानपुर : शुक्रबार रातिबाट परेको अविरल वर्षापछि आएकाे पहिराेकाे कारण हेटौंडाबाट काठमाडौं जोड्ने तीन मार्ग अवरुद्ध भएका छन्।

प्रहरीको अनुसार अविरल वर्षापछि आएको पहिरोको कारण हेटौंडा-सिस्नेरी- दक्षिणकाली सडक, कान्ति लोकपथ र हेटौंडा-चखेल-मातातिर्थ सडक अवरुद्ध भएको हो।

दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै सिस्नेरी सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ।

मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल सडक खण्ड अवरुद्ध भएको छ। अहिलेपनि वर्षा भइरहेकोले अवरुद्ध सडक खुलाउन सकिएको छैन।

त्यसैगरी कान्ति लोकपथ अन्तर्गत मकवानपुर तथा ललितपुरको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ।

असार २१, २०८१ शनिबार ०९:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।