विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डलाई जसपाले पनि साथ छाड्यो

विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डलाई जसपाले पनि साथ छाड्यो

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीले पनि २८ गते विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेको छ। पार्टी सरकारमा रहेको बेलामा अर्को गठबन्धन बनाउन लागेको भन्दै पार्टी विभाजित भएको थियो।

सात सांसदसहित विभाजित भएको पार्टीबाट प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र नवलकिशोर साह सुडी  बन तथा बातावरणमन्त्री भएका थिए। पार्टीले शुक्रवार सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेपछि शुक्रवार दुवै मन्त्रीले राजीनामा दिए। 

पार्टी विभाजनको निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइकैक्रममा छ। दुवै सांसद छोटो समयका लागि मन्त्री भए। सुडीको कार्यकाल त्यति विवादित भएन। तर छोटो समय स्वास्थ्य मन्त्री भए पनि प्रदीप यादव भने स्वास्थ्य सामाग्री उपकरण खरिदको टेन्डरमा विवादित बने। 

उता कांग्रेस-एमालेले मधेस प्रदेशमा जनमत पार्टीकै नेतृत्वलाई निरन्तरता दिने समझदारी गरेपछि जनमत पार्टी समेत नयाँ गठबन्धनमा सहभागी हुनेछ। यस अगाडि नै जनमतका अध्यक्ष सिके राउतले मधेसमा आफ्नो नेतृत्वको सरकार स्वीकार गरे नयाँ गठबन्धनलाई सघाउने बताइसकेका छन्।

एमालेले समर्थन फिर्ता लिइसकेको छ। अब सरकारलाई माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको मात्र समर्थन बाँकी छ।

असार २०, २०८१ शुक्रबार २२:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।