कोलाहलमा छोपिएका सम्पदाको सुन्दरता (फोटो स्टोरी)

कोलाहलमा छोपिएका सम्पदाको सुन्दरता (फोटो स्टोरी)

काठमाडौँ : भिड, कोलाहल, जता पनि मान्छे नै मान्छे । कोही फोटो खिचिरहेका अनि कोही क्यामराअघि नाचिरहेका। केही भने त्यहाँका दृश्यहरूलाई क्यामरामा कैद गर्न व्यस्त।

यति मात्रै कहाँ हो र, जहाँ मानिसको भिड, त्यहाँ व्यापारी त हुने नै भए। फुटपाथमा सामान छरेर बसेका हुन् या हातमा बोकेर हिँडेका। सटरमा व्यापार गर्नेहरूको असरल्ल सामान पनि ढोका भन्दा बाहिर निस्किएका देख्न सकिन्छ।

यो हविगत छ काठमाडौँ उपत्यकामा भएका अधिकांश सम्पदाहरूको। दुरीले टाढा भएको र मानिसहरूले कम थाहा पाएका ठाउँको अवस्था फरक होला तर विश्व सम्पदा सूचिमा परेका तथा चर्चाको शिखरमा रहेका उपत्यकाका प्रायः मन्दिर र सम्पदाहरू भिडभाड र कोलाहलका कारण आफ्नो सुन्दरता लुकाउन बाध्य छन्।

त्यसैले त, उपत्यकामा भएका सुन्दर सम्पदाहरू हेर्न रातको समय गज्जब हुन्छ। दिउँसो उपत्यका भएका सम्पदाको दृष्य अनि त्यही सम्पदा रातमा, आकाश र जमिनको फरक देखिन्छन्। यस्तो लाग्छ, भिडभाडबाट मुक्ति पाएका ती सम्पदाहरू रातको समयमा स्वतन्त्र हुन्छन् र आफूलाई हल्का महसुस गर्दै मुस्कुराउँछन्।

तर केही सम्पदामा भने त्यहाँ सही ढङ्गले लाइटको प्रयोग नगर्दा खल्लो लाग्छ। यसको गतिलो उदाहरण हो वसन्तपुर।

वसन्तपुर जति भव्य छ, त्यति सुन्दर देख्न मुस्किल पर्छ। वसन्तपुर दरबार र त्यहाँ भएका मन्दिरहरूमा लाइट सही तरिकाले राख्न नसक्दा आफ्नो सुन्दरता लुकाउन बाध्य भएको वसन्तपुर छेवैको रुफटप क्याफेका राजन श्रेष्ठ बताउँछन्। उनले भने, ‘यहाँ प्रयोग गरिएको लाइटका कारण रातको समयमा वसन्तपुर जति सुन्दर देखिनुपर्ने हो त्यति देखिँदैन।'

दिउस अनि बेलुका कति फरक देखिन्छन् त काठमाडौँ, ललितपुर अनि भक्तपुरका सम्पदाहरु। आउनुस् फोटोबाट भ्रमण गरौँ :

मध्यान्ह वशन्तपुरमा पुग्दा कोलाहलको वातावरण थियो। व्यक्तिहरू आ-आफ्नै गन्तव्यका लागि दौडादौडमा देखिन्थे। वरिपरि रहेका सुन्दर सम्पदातिर कमैको नजर पर्थ्यो। ती दृश्य देख्दा ती सुन्दर र बहुमूल्य सम्पदाको अपमान भए झैँ देखिन्थ्यो।

बेलुका ११ बजेतिर त्यही वशन्तपुरमा क्षेत्रमा पुग्दाको माहौल भने भिन्न थियो। शान्त थियो वशन्तपुर अनि वरिपरि रहेका सम्पदाका सुन्दरता पनि मजाले खुलेका थिए। चकमन्न वातावरणमा सम्पदाहरू भिन्नै सुन्दर देखिने रहेछन्।
त्यही वशन्तपुर नजिकै छ गद्दी बैठक। यो सबैभन्दा धेरै तस्बिर खिचिएको स्थान पर्छ। किनकि इन्द्रजात्रामा यहीँ बसेर राष्ट्र प्रमुखसहितका उच्चपदस्थहरूले जात्राको दृश्यावलोकन गर्छन्। यो वशन्तपुर क्षेत्रको अन्तर्राष्ट्रिय आइकन भने पनि फरक पर्दैन। अगाडि खुल्ला स्थान रहे पनि दिउसो त्यहाँ त्यति एकान्त ठाउँ पाइँदैन। केही-केही भूकम्पमा क्षतिग्रस्त भएर पुनर्निर्माण भएको गद्दी बैठकको दृश्यावलोकन गर्न आउँछन्। तर कोलाहलमा त्यसको सुन्दरता कता छोपिन्छ कता।
बेलुका त्यही स्थानमा पुग्दाको दृश्यको त झन् के वर्णन गर्न। हल्का डिम लाइटमा सेतो पृष्ठभूमिको गद्दी बैठक बाहिरको दृश्य चम्किरहेको हुन्छ। शान्त वातावरणमा त्यो दृश्य हेरेर वाह नभन्नेहरू कमै होलान्।
अब भक्तपुरतिर लागौँ। यो मन्दिर हो गणेशको। यो ठ्याक्कै भक्तपुर प्रवेश गरेपछि दरबार छिर्ने गेटैको दायाँतिर छ। काष्ठकलाको त के कुरा गर्नु, निकै सुन्दर कलाकृति छ। काठमाडौँको वसन्तपुरको तुलनामा यता भिडले त्यति अवरोध त गर्दैन। तर त्यति मजा भने आउँदैन।
बेलुका यही ठाउँमा पुग्दा दिउसो आएको ठाउँ नै हैन जस्तै देखिन्छ। काठमाडौँको तुलनामा भक्तपुरको सम्पदाको संरक्षण अलि सुधारिएको देखिन्छ नै। बेलुका सुनसान वातावरणमा गणेश मन्दिर हेरिरहँदा फुत्त गणेशै बाहिर निस्कन्छन् कि जस्तै लाग्छ।
भक्तपुर अझैँ घुमौँ न। त्यहाँ तेलिया इँटाको प्रयोगले भुईँ पनि प्राचीनै लाग्छ। वरिपरिका सम्पदा र कलाकृत उस्तै गजब। यो तस्बिर चैँ भक्तपुर सङ्ग्रहालय अगाडिको हो। यहाँ भूकम्पको समयमा क्षति पुगेको सम्पदा अझै पुनर्निर्माण भइरहेको देखियो। यो तस्बिर अलि ब्लर देखिन्छ। तर बिग्रिएको हैन है, मोसनमा खिचेको हो।
यो तस्बिर देखेर झुक्किनु त भएन नि! यो त्यही भक्तपुर सङ्ग्रहालय अगाडिको हो। बेलुकाको तस्बिर त अझ गजब छ है।
अब लागौँ पाटनतिर। यो पाटनको कृष्ण मन्दिरसहितको क्षेत्रको तस्बिर हो। दिउसो यहाँ पनि उस्तै भिडभाड हुन्छ। मन्दिर दर्शन गर्न अनि यसो फोटो खिच्न आउनेहरूले त्यति शान्त वातावरणको अनुभव गर्न पाउँदैनन्। नजिकै सडकमा गुड्ने सवारीसाधनका ट्याट्याले सुन्दर कलाकृतीले मुग्ध बनाएको मनस्थिति रिस उठ्दो परिदिनसक्छ।
यो त्यही पाटनको कृष्ण मन्दिरसहितको क्षेत्रको बेलुकाको तस्बिर। छैन त गजब!

अन्त्यमा पाटनको पिम्बहालको यो सुन्दर तस्बिर। स्तुपा अनि अगाडिको पोखरीमा देखिने त्यसैको छाँयाको दृश्यले मोहित नहुने त कमै होलान्।

असार २१, २०८१ शुक्रबार २०:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।