सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरेको क्यानले महिला क्रिकेटर अप्सरीलाई निलम्बन गर्‍यो

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरेको क्यानले महिला क्रिकेटर अप्सरीलाई निलम्बन गर्‍यो

काठमाडौँ : महिला टी-२० एसिया कप क्रिकेट प्रतियोगिताका बन्द शिविरमा टिम व्यवस्थापक र टिम प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कनट्र्याक्ट)मा राख्ने निर्णय गरेको छ।

बिहीबारको बोर्ड बैठकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो। उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानको विज्ञप्तिमा उल्लेख छ।

उता बेगमलाई तत्काल निलम्बन गरेर बाँकी कारबाहीको जिम्मा अनुशासन समितिलाई तोकेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको बन्द शिविरमा रहेका सन्दीप होटेलबाट बाहिर निस्किएर प्रशंसकलाई नगरकोट लगेर एयरपोर्टको एक होटेलमा ल्याएर बलात्कार गरेको अभियोग लाग्दा क्यानले कुनै कारबाही गरेको थिएन। उनीमाथि नाबालिग बलात्कारको अभियोगमा मुद्दा दर्ता हुँदा समेत खेल खेलाएको थियो क्यानले। जिल्ला अदालतबाट दोषी ठहर हुँदा निलम्बनमा परेका उनले उच्चबाट सफाइ पाए लगत्तै टिममा समावेश गरेर अन्तर्राष्ट्रिय खेल खेलाएको थियो।

निलम्बनमा परेकी अप्सरी आक्रामक ब्याटरको रूपमा परिचित छिन्। 

असार २०, २०८१ शुक्रबार १८:१५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।