७३ जिल्लामा डेंगी फैलियो, काठमाडौँमा धेरै सङ्क्रमित

७३ जिल्लामा डेंगी फैलियो, काठमाडौँमा धेरै सङ्क्रमित

काठमाडौँ : ७३ जिल्लामा डेंगी देखिएको पुष्टि भएको छ। शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रियात्मक कार्यक्रममा यो तथ्य सार्वजनिक गरेको हो।

महाशाखाको तथ्याङ्क अनुसार  २०८०  पुस १६ (२०२४  जनवरी १) देखि २०८१ असार १९ (जुलाई ३) सम्मको अवधिमा एक हजार चार सय ३२ जनमा डेंगु सङ्क्रमण पुष्टि भएको थियो।

यो अवधिमा ७३ जिल्लामा डेंगु देखिएको पुष्टि भएको छ। गत वर्ष ७७ वटै जिल्लामा डेंगु देखिएको थियो भने २० जनाको डेंगु सङ्क्रमणकै कारण मृत्यु भएको थियो।

महाशाखाको रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले यो वर्ष डेंगु सङ्क्रमणका कारण व्यक्तिको मृत्यु नभएको बताए।

यो वर्ष हालसम्म सबैभन्दा धेरै काठमाडौँमा नै डेंगी देखिएको छ। काठमाडौँमा एक सय ५९ जना सङ्क्रमित भएका छन् भने काठमाडौँपछि झापामा एक सय २० जनामा सङ्क्रमण भएको छ।

तेस्रोमा चितवनमा ८३ र चौथोमा मकवानपुरमा ६५ जना सङ्क्रमित भएका छन्। तनहुँमा ४९ र डोटीमा ४९ जनालाई डेंगु सङ्क्रमण भएको छ। त्यसैगरी ओखलढुङ्गामा ४६ र सिन्धुपाल्चोकमा ४६ जना, भोजपुरमा ४३ र पाल्पामा ३५ जना सङ्क्रमित भएका छन्।

डेंगु नियन्त्रणका लागि स्थानीय तहको सक्रियता पनि त्यतिकै आवश्यक हुने महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए।

डेंगु नियन्त्रणका लागि विभिन्न नीतिगत निर्णय समेत भएको उनले सुनाए। त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले डेंगीबाट बच्न प्लास्टिकका कप, फोहोर लगायत जथाभाबी राख्न नहुने बताए। उनले डेंगीको जनचेतनात्मक कार्यक्रमलाई जोड दिनुपर्ने बताए।

पानी परेर केही दिन रोकिएको खण्डमा डेंगीको जोखिम बढी हुने भएकाले सचेत बन्नुपर्ने कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. दाहालले जानकारी दिए। ‘पानी पर्ने अनि ७÷८ दिन नपर्ने, फेरी पानी पर्ने जस्तो चक्र भयो भने डेंगी बढ्छ’उनले भने।

केही दिनको अन्तरालमा पानी पर्दै रोकिँदै गरेको खण्डमा लामो समय जमेको पानीबाट लार्भाको वृद्धि विकास भएर लामखुट्टे फैलने जोखिम हुने चिकित्सक बताउँछन्।

यसरी बच्न सकिन्छ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. विमल चालीसे डेंगु सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय भएको बताउँछन्। डेंगीबाट बच्न झुल लगाएर सुत्नु तथा पूरा शरीर ढाक्ने किसिमले कपडा लगाउनुपर्छ।

दिउँसो बढी एडिस जातको लामखुट्टे सक्रिय हुने भएकाले काममा व्यस्त हुँदा समेत यो बेला लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ।

लामखुट्टेले बाँच्नका लागि कम समयमा धेरै व्यक्तिको रगत चुस्छ र छोटो समयमा नै धेरै व्यक्तिमा डेंगु सर्न सक्छ। त्यसैले बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण नगर्ने हो भने महामारीकै जोखिम निम्तिन सक्छ।

चिकित्सकको मत अनुसार डेंगु फैलिएको खण्डमा विषादीको धुवाँ समेत छरिने भए पनि यो त्यति प्रभावकारी हुँदैन। त्यसैले ‘सर्च एन्ड डिस्ट्रोय’ विधि अपनाएर लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्ने र पानी जम्न नदिने विधि अपनाउनु प्रभावकारी हुन्छ।

लामखुट्टेको वृद्धिका लागि फूल पार्ने उपयुक्त वातावरण नै गर्मीमा जमेको सफा पानी हुने चिकित्सक बताउँछन्। त्यसैले विशेषगरी मनसुनको समयमा टिनका डब्बा, टायर, खाली ड्रम जस्ता चिजमा पानी जम्मा हुन दिन हुँदैन। सुक्खा ठाउँमा समेत एक वर्षसम्म लामखुट्टेका अण्ड बाँच्न सक्ने भएकाले त्यस्ता अण्डामा पानी परेपछि लामखुट्टे उत्पादन हुने विशेषज्ञ बताउँछन्।

डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो। एडिस जातको पोथी लामखुट्टेले टोकेको खण्डमा डेंगु भाइरस सर्छ। सामान्यतया १६ डिग्रीभन्दा बढी तापक्रम एडिस जातको लामखुट्टेको लागी उचित वातावरण हुने चिकित्सक बताउँछन्। सामान्यतया एउटा लामखुट्टे ४५ दिन बाँच्न सक्छ। एउटा लामखुट्टेले एक पटकमा सय वटा फुल पार्न सक्ने र एडिस जातको लामखुट्टेले जीवन अवधि भरमा नौ पटक फुल पार्ने चिकित्सक बताउँछन्। सङ्क्रमित लामखुट्टेले पारेको फुलमा भाइरस हुने र एउटा लामखुट्टेले त्यसको जीवनमा नौ सय वटा सङ्क्रमित लामखुट्टे जन्माउन सक्छ। लामखुट्टेले बाँच्नका लागि कम समयमा धेरै व्यक्तिको रगत चुस्छ र छोटो समयमा नै धेरै व्यक्तिमा डेंगु सर्न सक्छन्। त्यसैले बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण गर्नुपर्नेमा उनको जोड छ।

असार २१, २०८१ शुक्रबार १८:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।