१५ जना विरुद्ध एकै दिन विशेषमा मुद्दा, मुद्दा खेप्नेमा नगरपालिका प्रशासन प्रमुखदेखि सव-इन्जिनियरसम्म

१५ जना विरुद्ध एकै दिन विशेषमा मुद्दा, मुद्दा खेप्नेमा नगरपालिका प्रशासन प्रमुखदेखि सव-इन्जिनियरसम्म

काठमाडौँ : सेवाग्राहीसँग घुस  र काममा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार एकै दिन फरक फरक स्थानबाट १५ जनालाई नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार १५ जनालाई विभिन्न मुद्दामा पक्राउ गरिएको हो।

आयोगका अनुसार पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँका सव–इन्जिनियर राजनकुमार भट्टराई र सञ्जय अर्याल निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा पक्राउ गरेको हो।

सव–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएको आयोगले जानकारी दिएको छ।

पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सव–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याल समेतको मिलेमतोमा सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रवार विशेष अदालतमा आरोप–पत्र दायर भएको छ।

आर्थिक वर्ष २०७७-०७८ मा विनियोजित बजेटबाट सिराहाको नवराजपुर गाउँपालिका वडा नं. २ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको उजुरीका आधारमा  नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर सन्तोष कुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरुद्ध मुद्दा दायर भयो।

उनीहरूले फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गरी-गराई वास्तविक कामभन्दा बढीको मूल्याङ्कन गराई ग्राभेल खरिद तथा ढुवानी समेतको लागि नवराजपुर गाउँपालिकाको नामको सरकारी सवारी साधन प्रयोग गरी उक्त सवारी अन्य व्यक्तिको भनेर झुट्टा भरपाई लगायतको कागजात तयार गरेको भन्ने उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। आयोगले १२ लाख ७ हजार बढी भुक्तानी दिएको भन्दै शुक्रवार मुद्दा दायर गर्यो।

शुक्रवारै उपभोक्ता समितिका अध्यक्ष जिवछ कुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने रामउदगार खत्वे मण्डलले सम्झौताबमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिमको कार्य नगरी झुट्टा बिल भरपाइ लिएको आयोगको आरोप छ।

नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का  तत्कालीन वडा अध्यक्ष खुसीलाल साहले इष्टिमेट अनुसार कार्य नगरेको देखाइ रकम भुक्तानी गर्न सिफारिस गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भयो।

धनुषाको मिथिला बिहारी नगरपालिकामा २०७९-८० मा सञ्चालित वडा नं. ९ को आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमअन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको आरोपमा मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव विरुद्ध मुद्दा दायर भयो। 

मजदुर होसियारी उद्योग, जनकपुरधाम–२ का प्रोप्राइटर राम सुन्दर साह तेली पनि साही मुद्दामा पक्राउ परेका छन्। उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको छ।

असार २०, २०८१ शुक्रबार १७:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।