ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीन जना घाइते

ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, तीन जना घाइते

रौतहट : रौतहटको गौरमा ट्युसन पढ्न आएका विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ।

गौर नगरपालिका नजिकै सञ्चालनमा रहेको ट्युसन तथा कोचिङ सेन्टरका विद्यार्थीहरुबीच झडप भएको थियो।

प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको छ।

चार जनालाई पक्राउ गरे पनि एक जनाको संलग्नता नदेखिएपछि तीन जना उपर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

असार २०, २०८१ शुक्रबार १७:०२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।