राष्ट्रिय राजनीतिमा उलटफेरमा हाम्रो पार्टीको माग छ : माधव नेपाल

राष्ट्रिय राजनीतिमा उलटफेरमा हाम्रो पार्टीको माग छ : माधव नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताउँदै अहिलेको अवस्थामा कुनै पनि दल एक्लै हिँड्न नसक्ने बताए।

शुक्रवार पार्टीको महाधिवेशन समापन समारोहमा बोल्दै उनले आफ्नो पार्टीको राष्ट्रिय महाधिवेशन भइरहेको बेलामा राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यसमा एकीकृत समाजवादीको खोजी भइरहेको बताए।

सरकार निर्माणमा नेपाली कांग्रेस र एमालेको बहुमत पुगे पनि संविधान संशोधन गर्ने हो भने राष्ट्रिय सभामा एकीकृत समाजवादीको साथ चाहिन्छ। राष्ट्रिय सभामा एकीकृत समाजवादीको आठ सिट छ।

‘अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको छ। यस्तो बेला हाम्रो पार्टीको माग छ,’ उनले दाबी गरे ‘अहिले कुनै पनि पार्टी एक्लै जान सक्ने अवस्थामा छैनन्। या त एउटा कित्तामा उभिनुपर्छ, या त अर्कोमा उभिनुपर्ने बाध्यता छ। यसबेला सहयोगीहरूको आवश्यकता परिरहेको छ। त्यस अर्थमा त्यसमा हाम्रो भूमिका छुट्टै  छ।’

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको बताए।

एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनबाट सुदूरपश्चिम प्रदेशमा नेतृत्व पाएको थियो। एमाले-काङ्ग्रेसको सहमतिमा सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ।

उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।

‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ। यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेशमा प्रभाव पार्नेछ,’ उनले भने ‘यस अर्थमा हामीले कसरी अघि बढ्ने हो, यसबारेमा विभिन्न दलहरूसँग पनि वार्ता गर्नुपर्ने छ। नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ।'

असार २०, २०८१ शुक्रबार १६:५७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।