एक महिना सरकारमा बस्न पाउने प्रचण्डले सात दिनमा लिने भए विश्वासको मत

एक महिना सरकारमा बस्न पाउने प्रचण्डले सात दिनमा लिने भए विश्वासको मत

काठमाडौँ : एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्।

एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएसँगै दुवै दलले उनलाई राजीनामा दिन आग्रह गरे पनि उनले संसदबाट नयाँ सरकारको निकास दिने भन्दै अस्वीकार गरेका थिए।

सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनीसँग एक महिनाको समय थियो। तर उनले एक साताभित्रै विश्वासको मत लिने निर्णय गरेका हुन्।

प्रचण्डले शुक्रवार सङ्घीय संसदका महासचिवलाई पठाएको पत्रमा २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका छन्।

कांग्रेस र एमालेमध्ये एक दलले उनलाई विश्वासको मत नदिएसम्म उनको सरकार जोगिन सक्दैन। प्रतिनिधि सभामा २ सय ७५ सदस्य छन्। उनले विश्वासको मत पाउन १ सय ३८ मत चाहिन्छ। तर अहिले उनीसँग माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १० र अशोक राई नेतृत्वको जसपाको ७ सहित ७९ मत छ।

उनको विपक्षमा रहेको कांग्रेससँग ८८ र एमालेसँग ७९ सहित १ सय ६७ मत छ। उपेन्द्र यादवको जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी समेत एमाले-काङ्ग्रेसको गठबन्धनलाई समर्थन गर्ने बताइसकेको छ। जनमतले मधेस प्रदेश सरकारको नेतृत्व दिए गठबन्धनलाई सघाउने बताएको छ।

असार २०, २०८१ शुक्रबार १६:४१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।