राष्ट्रिय सभामा बजेट पेश हुँदा प्रतिपक्षी मौन, सभाध्यक्षले भने 'सर्वसम्मत पारित भयो’

राष्ट्रिय सभामा बजेट पेश हुँदा प्रतिपक्षी मौन, सभाध्यक्षले भने 'सर्वसम्मत पारित भयो’

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए।

सो बजेट प्रतिनिधि सभाले असार ११ मा पारित गरिसकेको छ। शुक्रवार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। उनले निर्णयका लागि पेस गरेको बजेटप्रति प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन बसेपछि बजेट पारित भएको घोषणा गरियो।

बजेट पारित हुनु अघि अर्थमन्त्री पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासमा प्रतिबद्ध रहेर बजेट निर्माण गरिएको बताएका थिए। राष्ट्रिय सभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक समेत सर्वसम्मत रूपमा पारित गरेको छ। यी तीनवटै विधेयक पनि प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको हो।

असार २०, २०८१ शुक्रबार १४:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।