‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस् भन्दा कसरी तर्साएको हुन्छ?’

‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस् भन्दा कसरी तर्साएको हुन्छ?’

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाएकी छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग्न र पार्टीको कार्यक्रममा नगई विद्यार्थीहरूलाई सहज रूपमा शिक्षा प्रदान गर्नु भन्दा तर्साएको कसरी भयो भन्दै प्रश्न गरेकी हुन्।

उनले भनिन्, ‘शिक्षण पेशा भनेको जागिरको विषय होइन, दायित्व हो। उनीहरू जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ। शिक्षकहरूलाई दलको आवद्धता त्याग्नुस् भनेको, तर्साउने काम गरिएको भन्दै हल्ला फैलाइयो। शिक्षकलाई पार्टीका कार्यक्रममा नगई कक्षामा विद्यार्थीलाई सहज वातावरण बनाइदिनुस् भन्दा कसरी तर्साएको भयो?’

देशभरका नीजि र सरकारी विद्यालयको नतिजामा केही फरक नभएको भन्दै उनले शिक्षाको गुणस्तर निरन्तर ओरालो लागिरहेको बताइन्।

‘सरकारी शिक्षकहरू राजनीतिक दलको जिम्मेवारी र सदस्यमा लागेर तालाबन्दी गर्ने, आन्दोलनमा गएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरि नतिजा खस्किरहेको छ’, उनको भनाइ छ।

यसैगरी, मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरू भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र कमाउँदा कमाउँदै शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिरहेको बताइन्।

यसअघि प्रतिनिधि सभामा बोल्ने क्रममा पनि उनले शिक्षकहरूको डिएनए मात्र नभएर आरएनए पनि परीक्षण गर्ने बताएकी थिइन्। शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले शिक्षक राजनीतिमा लाग्न नहुने बताउँदै आएकी छन्।

असार २०, २०८१ शुक्रबार १४:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।