एमाले अब प्रतिपक्षको बेन्चमा बस्ने

एमाले अब प्रतिपक्षको बेन्चमा बस्ने

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले अब प्रतिपक्षमा बस्ने भएको छ।

एमालेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गराउँदै प्रतिपक्षमा बस्ने बताएको हो।

‘नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ प्रमुख सचेतक महेश बर्तौलाले संसद सचिवालयलाई दिएको सूचनामा भनिएको छ, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ।’

गत असार १७ गते एमाले र नेपाली कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएसँगै १९ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री दाहाललाई राजीनामा गर्न आग्रह गरिरहेका छन्। तर प्रधानमन्त्री दाहालले भने विश्वासको मत लिनका लागि संसद फेस गने बताएका छन्।

असार २०, २०८१ शुक्रबार १३:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।