अल्पमत सरकारका श्रममन्त्रीको बाचा- ‘युवाहरूलाई स्वदेशमै रोजगार दिने तयारीमा छौँ’

अल्पमत सरकारका श्रममन्त्रीको बाचा- ‘युवाहरूलाई स्वदेशमै रोजगार दिने तयारीमा छौँ’

काठमाडौं : अल्पमतमा रहेको सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन्।

उनले भने, ‘वैदेशिक रोजगारीका लागि खाडि मुलुक जाने कामदारको संख्या दिनदिनै बढिरहेको छ। यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ। वैदेशीक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखिकरण तालिमको समेत प्रबन्ध गरेका छौँ।’

उनले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र वेरोजगार युवाहरुलाई जोड्ने पुलको काम गरेको बताए।

मन्त्री अर्यालले सिप विकास, रोजगार सेवालगायत सबै प्रकारका श्रम तथा रोजगार सेवाहरू स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट प्रवाह भइरहेको दाबी पनि गरेका छन्।

सरकारमा सहभागी सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि सरकार अहिले अल्पमतमा छ। एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन्।

तर प्रधानमन्त्री दाहालले भने विश्वासको मत लिनका लागि संसद फेस गर्ने बताइसकेका छन्।

असार २०, २०८१ शुक्रबार १२:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।