ओलीलाई गगनको ढाडस : हामीबाट जालझेल केही पनि हुँदैन, एमाले पनि इमानदार बनोस्

ओलीलाई गगनको ढाडस : हामीबाट जालझेल केही पनि हुँदैन, एमाले पनि इमानदार बनोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई आफूहरूसँगको गठबन्धनमा बस्दा सजिलो दल हुने बताएका छन्। 

बिहीबार सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू एमालेलाई पूर्ण साथ दिन तयार रहेको तर धेरै हेप्न-पेल्न थाले सह्य नहुने चेतावनी दिए। 

'कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी हो। ३३२ पालिकामा मेयर भएको, २६६८ वडामा वडाध्यक्ष, सात प्रदेशमध्ये बहुसंख्यक प्रदेशमा बहुमत बोकेको पार्टी हो नेपाली कांग्रेस,' उनले भने, 'त्यसकारण सत्ता सहकार्य गर्दा कांग्रेसको इज्जत, सम्मान राखेर जानुपर्छ भन्ने कुराको हेक्का हिजो जसरी गिरिजाप्रसादले राख्नुभयो, सुशील कोइरालाले राख्नुभयो आज त्यो हेक्का राख्ने काम केपी शर्मा ओलीको हो।'

उनले नेपाली कांग्रेससहितको गठबन्धन सम्हालेर सरकार चलाउने जिम्मेवारी अब ओलीको भएको भन्दै त्यसमा कांग्रेसले जालझेल नगर्ने आश्वस्त बनाए। 

'हामीबाट जालझेल केही पनि हुँदैन। हिजोमात्र कार्यसम्पादन समिति बैठक बसेर कांग्रेस–एमाले सहमति अनुमोदन गरेका छौँ,' उनले भने, 'सहमतिमा लेखिएको एउटा कुरामा पनि कांग्रेस तलमाथि हुँदैन। सहमतिको अक्षरश पालना हुने, नहुने कुरा हामीमात्र इमान्दार भएर हुँदैन। त्यति नै इमान्दार एमालेको नेतृत्व पनि हुनुपर्छ र हुन्छ भन्ने अपेक्षा पनि छ।' 

उनले भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने बताए। उनले भने, ‘अब बन्ने सरकारमा कांग्रेसले पठाएका मन्त्रीहरू समावेशीताका लागि उदाहरणीय हुनुपर्छ।’

समावेशीको उदाहरण दिनुपर्दा २०१५ साल दिनुपर्ने विवशता पार्टीमा रहेको उनको गुनासो छ।

‘उदाहरण दिनुपर्यो भने २०१५ सालको दिनुपर्दछ। अहिले सरकार बनाउँदै गर्दा २०८१ सालकै उदाहरण दिन पाइयोस् न,’ महामन्त्री थापाले भने,‘दलित, मधेशी, महिला, थारु, अल्पसंख्यक, मुसलमान सबै छन् भनेर।’

असार १९, २०८१ बिहीबार २१:५९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।