मंसिर ४ को चुनावमा गगन-रास्वपा सहकार्य : ‘काठमाडौँ-४ मा उम्मेदवार नउठाएबापत गगनले घण्टीमा भोट हाल्न लगाए’
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मंसिर ४ को निर्वाचनपछि घण्टी कांग्रेसको आरोप लाग्यो। केन्द्रीय तहकै नेताहरूले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर आफ्नै उम्मेदवार हराउन भूमिका खेलेको आरोप समेत लाग्यो।
आरोप र गगनमाथिको शङ्काको कारण थियो काठमाडौँ-४ रास्वपाको उम्मेदवार विहीन हुनु। काठमाडौँ ४ मा उम्मेदवार नउठाउन गगन र रविबीच रणनीतिक साझेदारी भएको आङ्कलन गरिएको थियो।
निर्वाचनताका अनि निर्वाचनपछि पनि गन रास्वपाप्रति नरमै देखिन्थे। रास्वपा सभापति रवि लामिछानेको दोहोरो नागरिकता अनि राहदानीको विषय उठ्दा पनि उनी मौन रहे।
बिस्तारै गगन र रास्वपाका नेताहरुबीच घोचपेच र सार्वजनिक आलोचनाहरू बढ्दै गयो। चितवन र तनहुँको उपनिर्वाचनले दुबैबीचको आलोचना उग्र बन्दै संसद्सम्म पुग्यो।
प्रतिपक्षको भूमिकामा गगन प्रतिनिधि सभामा सबैभन्दा बढी रविमाथि आक्रामक भए। सहकारी ठगी प्रकरणमा रविलाई उनले निरन्तर आलोचना गरिरहे। रविले पनि संसद्मै विदेशीलाई सूचना बेच्ने को? जस्ता प्रश्न गरेर प्रत्याक्रमण गरे।
२०७९ मंसिर ४ को निर्वाचनमा गगन र रास्वपाबीच रणनीतिक रूपमा सहकार्य भएको थियो कि यो उम्मेदवार नउठाउँदाको अनुमान मात्र हो? तथ्य कतै आएन।
निर्वाचनताका उकेराले रवि आत्महत्या दुरुत्साहनको आरोपमा चितवनको हिरासतमा रहँदा उनले सहयोग माग्दा गगनको प्रतिनिधीले 'भोलिका दिनमा राजनीतिमा आए गगन उठ्ने क्षेत्रमा नउठ्ने' वाचा गराएर रविलाई आत्महत्या दुरुत्साहनको मुद्दामा सघाएको सूचना पाएको थियो। तर यो पुष्टी हुन भने सकेको थिएन।
रविले ग्यालेक्सी छाडेर राजनीतिमा सक्रिय हुने तयारी शुरु गरेपछि उनलाई कांग्रेसमा ल्याएर काठमाडौँ ३ बाट उम्मेदवार बनाउन गगनले छलफल गरेको भने पुष्टी भएको थियो।
बिहीबार रास्वपाले सार्वजनिक गरेको निलम्बनमा परिसकेका महामन्त्री मुकुल ढकालको प्रतिवेदनमा गगन र रास्वपाबीच निर्वाचनमा सहकार्य भएको उल्लेख छ।
पार्टी स्थापनाकालदेखि अहिलेसम्मका गतिविधिको समीक्षा गर्नुपर्ने भन्दै ढकालले लेखेको अंशमा उदाहरणका रूपमा काठमाडौँ-४ मा उम्मेदवारी नदिने निर्णयबारे उल्लेख छ।
प्रतिवेदनमा ‘गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो’ उल्लेख छ। तर ती सिट कुन हुन् उल्लेख छैन। तर यसले गगन र उनको समूहमाथि लाग्ने गरेको घण्टी कांग्रेसको आरोपलाई भने बल पुगेको छ।
काठमाडौँ-४ मा उम्मेदवार नदिँदा चोट पुर्यायो
ढकालको प्रतिवेदनमा मङ्सिरको चुनावका बेला गगनका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण सिर्जना गरेकोमा आज चोट पुर्याएको छ उल्लेख छ।
गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुगेको उल्लेख गर्दै प्रतिवेदनमा नतिजाले काठमाडौँ ०४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले न तत्कालीन, न अहिले फाइदा भएको प्रतिवेदनमा उल्लेख छ।
‘गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्न पर्ने हुन’ प्रतिवेदनमा लेखिएको छ।
असार २०, २०८१ बिहीबार १९:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।