सत्ताको लागि फुटेको जसपा फेरि सत्तातिरै ढल्किँदै, कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने निर्णय

सत्ताको लागि फुटेको जसपा फेरि सत्तातिरै ढल्किँदै, कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने निर्णय

काठमाडौं : गएको वैशाख २२ गते जनता समाजवादी पार्टी नेपालबाट ७ जना सांसद अलग भएर अशोक राईको नेतृत्वमा नयाँ जसपा गठन भयो। तत्कालीन सत्ताधारी एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार जोगाउन जसपा नेपाल फुटाएको आरोपकाबीच जसपाले प्रचण्ड सरकारलाई समर्थन गर्यो। जसपाको तर्फबाट स्वास्थ्यमन्त्री प्रदीप यादवसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भए।

त्यसैबेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने सरकारबाट बाहिरियो। उपेन्द्र यादवको कार्यशैलीलाई बहाना बनाएर अलगिएको जसपा सरकारमा सहभागी बन्नमात्र फुटेको जस्तो देखियो। 

अहिले नयाँ बनेको कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेपछि जसपा नेपाल सत्ताकै लागि फुटेको भन्ने प्रमाणित भएको देखियो। 

महासचिव मोहम्मद इस्तियाक राईका अनुसार जसपाले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने र कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।  

महासचिव राईले भने, 'परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्नेछ। पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ।'

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ। 

यसअघि उपेन्द्र यादवको जसपा नेपाल र महन्थ ठाकुरको लोसपाले यसअघि कांग्रेस-एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेका छन्। त्यसो भएमा भर्खरै फुटेर आएको जसपा नेपालसँगै सत्तामा रहने छ।  

असार १९, २०८१ बिहीबार १४:४९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।