महामन्त्रीलाई निलम्बन गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ : सांसद निशा डाँगी

महामन्त्रीलाई निलम्बन गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ : सांसद निशा डाँगी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा केन्द्रीय सदस्य निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गर्न आफूले पनि हस्ताक्षर गरेको बताएकी छन्।

महामन्त्री पदबाट सात दिनसम्ममका लागि निलम्बन गर्न आफूले हस्ताक्षर नगरेको भन्दै भ्रामक समाचार आएको भन्दै उनले उक्त समाचारमा ध्यानाकर्षणसहित खण्डन गरेकी हुन्।

‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु,’ उनले सामाजिक सञ्जालमा जारी गरेको खण्डनमा भनिएको छ, ‘भ्रामक, तथ्यहीन, कपोलकल्पित रूपमा सिर्जना गरिएको र कुनै सत्यता नरहेको उक्त समाचारप्रति खेद प्रकट गर्दै पत्रकारिताको न्यूनतम मर्यादा कायम राख्न आग्रह गर्दछु।’

साथै उनले केन्द्रीय समितिको बैठकले महामन्त्रीलाई निलम्बन गर्ने सर्वसम्मत निर्णय गरेको निर्णयपुस्तिका कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरेको समेत स्मरण गराउँदै उक्त निर्णयमा आफ्नो सहित हस्ताक्षर भएको तस्वीर समेत सार्वजनिक भएको बताइन्।

बुधबार साँझ केही सञ्चारमाध्यमले ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा समाचार छापेपछि सांसद डाँगीले यस्तो स्पष्टिकरण दिएकी हुन्।

असार १९, २०८१ बिहीबार १२:०४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।