प्रधानमन्त्रीले ‘साथ दिनुपर्यो’ भनेपछि राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरू

प्रधानमन्त्रीले ‘साथ दिनुपर्यो’ भनेपछि राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरू

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेकाहरूले राजीनामा नबुझाइ फर्केका छन्।

राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका आफूहरूसँग प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भनेर साथ दिन आग्रह गरेपछि राजीनामा नबुझाइएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

‘रास्वपाका तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरूको राजीनामा दिन भनेर आज बालुवाटार आएका थियौँ। प्रधानमन्त्रीले अलिकति छलफल गर्नुपर्यो भन्नुभयो, पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभएको छ। संसदलाई फेस गरिरहँदा तपाईंहरूले मलाई साथ दिनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो।’

प्रधानमन्त्रीको आग्रहलाई स्वीकार्दै आफूहरूले राजीनामा नदिएको र छिटो विश्वासको मत लिन समेत आग्रह गरेको प्रमुख सचेतक परियारले बताए।

उनले थपे, ‘हामीले प्रधानमन्त्रीलाई जतिसक्दो छिटो संसदलाई फेस गर्नुहोला भनेका छौँ। विश्वास मत लिने बेलासम्म हामी तपाईंलाई साथ दिन्छौं भनेका छौँ।’

दाहाल नेतृत्वको संघीय सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्।

असार १९, २०८१ बिहीबार ११:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।