सेटिङमा डुबेको गेटा अस्पतालमा लुट, एकै दिन २६ करोडको टेण्डर स्वीकृत

सेटिङमा डुबेको गेटा अस्पतालमा लुट, एकै दिन २६ करोडको टेण्डर स्वीकृत

काठमाडौं : कैलालीको गेटा अस्पतालले असार १५ गते एकै दिन करिब २६ करोड ३८ लाख ३८ हजार ६ सय ५० टेण्डर स्वीकृत गर्ने निर्णय गरेको छ।

उकेरालाई प्राप्त तथ्य अनुसार अस्पतालले निश्चित उत्पादक कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर कमिसनको खेलमा चाहेकै सप्लायर्स कम्पनीलाई सो रकमको टेण्डर स्वीकृत गर्ने निर्णय गरेको हो।

आर्थिक वर्ष सकिने अन्तिम समयमा अस्पतालले करिब ८० करोड भन्दा बढी रकमको मेसिन, उपकरण तथा स्वास्थ्य सामग्री चाहेकै कम्पनीबाट खरिदका लागि प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

गेटा अस्पतालमा निर्देशक डा. विप्लव सापकोटा छन् भने बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत। चटौतलाई अस्पतालले करारमा राखेको हो। यो मिलेमतोमा चटौतको प्रत्यक्ष र सापकोटाले चटौतको बदमासीमा साथ दिएको देखिन्छ।

उसो त निर्देशक डा. सापकोटाले नियमसंगत तरिकाले नै खरिद प्रक्रिया अगाडि बढेको दाबी गरेका छन्। तर, उनको दाबीलाई पत्याउने एउटै पनि आधार देखिँदैनन्।

गेटाले असार १५ गते टेण्डर स्वीकृत गर्ने सम्बन्धी जारी गरेको सूचनामा टेण्डर पाउने सबै सप्लायर्स कम्पनीका फर्म धनगढीकै प्रयोग भएको देखिएको छ।

मोडुलर ओटी लक्ड गरेर बालाजीलाई ६ करोडको टेण्डर
अस्पतालले मोडुलर अपरेटिङ थिएटर (मोडुलर ओटी) र हस्पिटल बेड तथा ट्रली खरिदका लागि धनगढीको बालाजी सर्जिकल सप्लायर्सलाई दश करोड ८० लाख २९ हजार ६ सय ५० को टेण्डर दिएको छ।

२०८० चैत ३० मा मोडुलर ओटी खरिद गर्ने गरी टेण्डर आह्वान भएकोमा अस्पतालले असारमा १५ मा सूचना निकालेर ६ करोड ३६ लाख ४३ हजारमा निश्चित उत्पादक कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरी बालाजी सर्जिकल सप्लायर्स टेण्डर दिएको हो।

उकेराको खोजमा अस्पताल प्रशासनले मोडुलर ओटीको ठेक्का भारतीय ब्रान्ड ‘शाल्य’को नेपाली एजेन्टलाई दिन कम्पनीको क्याटलग जस्ताको त्यस्तै टेन्डरको स्पेशिफिकेशनमा राखेको खुलेको थियो। सो मोडुलर ओटीको स्पेशिफिकेशन शाल्य ब्रान्डको क्याटलग नै कपि गरेर राखेको पुष्टि भएको विषय उकेराले एक हप्ताअघि खुलासा गरेको थियो।

शाल्य ब्रान्डको नेपाल सप्लायर्स कम्पनी ‘बालाजी सर्जिकल’ सप्लायर्सले मोडुलर ओटीको टेन्डरमा आवेदन दिएको थियो। पहिल्यै मिलेमतोमा स्पेशिफिकेशन लक्ड गरिएकाले यो टेन्डर उसैले पाउने पक्कापक्की थियो। असार १५ गते बालाजीलाई नै मोडुलर ओटीको टेण्डर स्वीकृतको सूचना प्रकाशित गर्नुले सेटिङको मिलेमतो पुष्टि भएको छ।

गेटा अस्पतालले गरेको टेन्डर आह्वानको सूचनामा सो मोडुलर ओटी खरिदका लागि ‘प्रि-बिड मिटिङ’ हुने मिति २०८१ वैशाख २३ गते (मे ०५, २०२४)लाई तोकेको थियो। ‘प्रि-बिड मिटिङ’मा सप्लायर्स कम्पनीहरूलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्।

अस्पतालले ‘प्रि-बिड मिटिङ’ गरेपछि सप्लायर्सले कम्पनीहरूले निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर सेटिङमा चाहेकै कम्पनीलाई टेन्डर दिनेगरी स्पेशिफिकेशन संशोधनको माग गर्ने नै भए।

त्यसपछि गेटाले २०८१ जेठ दुई (मे १५, २०२४) मा मोडुलर अपरेटिङ थिएटर (ओटी)को खरिदको स्पेशिफिकेशनमा भएका केही बुँदा संशोधन पनि गर्यो। तर, अस्पतालले मोडुलर ओटीको कागजातमा भएको मुख्य बुँदा भने संशोधन नै गरेन।

संशोधन भएका बुँदा पनि सप्लायर्सलाई नै थप फाइदा पुग्नेगरी संशोधन भएको थियो। अस्पतालले प्रि-बिड मिटिङपछि सो टेन्डरको स्पेशिफिकेशनको संशोधनको कर्मकाण्डी मात्रै पूरा गरेको थियो।

त्यसैगरी गेटा अस्पतालले चार करोड ४३ लाख ८६ हजार ६ सय ५० को ‘हस्पिटल बेड र ट्रली’ पनि धनगढीकै ‘बालाजी सर्जिकल सप्लायर्स’लाई दिएको छ। यो पनि स्पेशिफिकेशन लक्ड गरेर सेटिङमा नै बालाजी सर्जिकल सप्लायर्सलाई टेण्डर दिएको हो।

बिजयलाई मेडिकल ग्यास र मोमाग्राफीको टेण्डर
अस्पतालले ‘मेडिकल ग्यास सिस्टम’ धनगढीकै ‘बिजय जय सप्लायर्स’सँग पाँच करोड ६ लाखमा खरिद गर्ने निर्णय गरेको छ भने ‘डिजिटल मेमोग्राफी सिस्टम’ दुई करोड ४३ लाखमा खदिर गर्नेगरी ‘बिजय सप्लायर्स’लाई टेण्डर दिएको छ।

यी दुवैको प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर गेटाले खरिद प्रक्रिया अगाडि बढाएको थियो। आखिरमा त गेटाले सेटिङ अनुसार नै बिजयलाई टेण्डर स्वीकृतको निर्णय गरेको हो।

डीबी मेडिसिनलाई प्लाज्मा र ल्याबको टेण्डर
अस्पतालले ‘लो टेम्प्रेचर प्लाज्मा स्टेरीलाइजर’ चार करोड २४ लाखमा, ‘ल्याबोरेटोरी इक्वीप्मेन्ट्स (लट-०१)’ दुई करोड तीन लाखमा र ‘ल्याबोरेटोरी इक्वीप्मेन्ट्स (लट-०२)’ एक करोड ८२ लाख नौ हजार रुपैयाँमा खरिदका लागि धनगढीको ‘डीबी मेडिसिन सेन्टर’लाई टेण्डर दिएको छ।

उकेराले चार हप्ताअघि जेठ २२ गते नै ल्याबको यो टेण्डरबारे खुलासा गर्दै, ‘जुन स्वास्थ्यमन्त्री आए पनि कमिसनकै दाउ, गेटाको चार करोडको ल्याबको टेन्डरमा मिलेमतो हुँदा मन्त्री प्रदीप भन्छन्-थाहा छैन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। जुन समाचार अनुसार टेण्डरको सेटिङ पुष्टि भएको छ।

गेटा अस्पतालले २०८१ वैशाख १० मा दुई वटा प्याकेजका रूपमा लट-१ र र लट-२ गरी दुई वटा लटमा वर्गीकरण गरेर ल्याब सम्बन्धी सो मेसिन खरिद प्रक्रिया अगाडि बढाएको थियो।

अस्पतालले निर्माण गरेको स्पेशिफिकेशनमा राखिएका सर्तहरू चिनियाँ मेसिन उत्पादक कम्पनी ‘माइन्ड-रे’ले उत्पादन गरेको मेसिनसँग मात्रै मिल्ने गरी टेण्डर प्रक्रिया अगाडि बढाएको थियो। अस्पताल स्रोतका अनुसार सो टेण्डरका लागि ल्याबलाइनको नाम लिँदै सुदेश श्रीवास्तव सक्रिय भएको विषयको समाचार समेत उकेराले सम्प्रेषण गरेको थियो।

ल्याबसम्बन्धी सो मेसिन खरिदका लागि ‘आईसीबी नम्बर ७’ को ‘लट-१’ र ‘आईसीबी नम्बर ८’ को ‘लट-२’ मा भएको टेन्डर चिनियाँ उत्पादक कम्पनी ‘माइन्ड-रे’ले उत्पादन गरेको मेसिनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेको उकेराले प्राप्त गरेको तथ्यले देखाएको थियो।

‘आईसीबी नम्बर ७’ को ‘लट-१’ का रूपमा टेन्डर भएको सो खरिदको सिरियल नम्बर ३ को टेन्डर (आईएफबी) नं. ‘जीएच-जी-आईसीबी-०७-२०८०-८१’ रहेको छ। ‘आईसीबी नम्बर-८’ को ‘लट-२’ का रूपमा टेन्डर भएको सो खरिदको ‘सिरियल नम्बर ४’ को टेन्डर (आईएफबी) नम्बर ‘जीएच-जी-आईसीबी-०८-२०८०-८१’ रहेको छ।

गेटा अस्पतालले टेन्डर आह्वानको सूचनामा ल्याब सम्बन्धी मेसिन खरिदका लागि ‘प्रि-बिड मिटिङ’ हुने मिति २०८१ जेठ आठ गते (मे २१, २०२४)लाई तोकेको थियो।

‘प्रि-बिड मिटिङ’मा सप्लायर्सहरूलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। तर, प्रि-बिडको कर्मकाण्ड मात्रै पूरा गरेर सप्लायर्सले संशोधनको माग गरे पनि त्यसको सम्बोधन नै नगरी गेटाले चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिएको हो।

असार १९, २०८१ बिहीबार ०९:५९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।