आँधीको कारण बार्बाडोसमै फसेको विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो, आज मुम्बईमा परेड

आँधीको कारण बार्बाडोसमै फसेको विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो, आज मुम्बईमा परेड

एजेन्सी : आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली बार्बाडोसबाट स्वदेश फर्किएको छ।

बेरील आँधीका कारण टोली बार्बाडोसको विमानस्थल बन्द भएपछि त्यहिँ रोकिनुपरेको भारतीय टोली बिहीबार विहान स्वदेश फर्किएको हो।

दिल्ली एयरपोर्टमा पुग्ने बित्तिकै टोलीको भव्य स्वागत गरिएको थियो। स्वागतका लागि विमानस्थलमा फ्यानहरू पहिलेदेखि नै उपस्थित थिए।

टोली एयरपोर्टबाट दिल्लीको आईटीसी मौर्य होटल पुगेको छ। भारतीय टोलीले आजै दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय मिडियाले जनाएका छन्।

कप्तान रोहित शर्माले ट्वीट गर्दै जुन ४ मा साँझ ५ बजेदेखि टोलीले मुम्बईको मरिन ड्राइभ र वानखेडे स्टेडियममा विजयको उत्सव मनाउने परेड निकाल्ने जानकारी दिएका छन्।

रोहितले एक्समा लेखेका छन्- ‘हामी यो विशेष पल तपाईंहरू सबैसँग मनाउन चाहन्छौँ। त्यसैले यो विजयलाई विजय परेडका साथ जुलाई ४ मा मरिन ड्राइभ र वानखेडे स्टेडियममा साँझ ५ बजे मनाऔँ।’

बार्बाडोसमा जुन २९ मा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो। रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको हो।

असार १९, २०८१ बिहीबार ०९:०७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।