प्रदेशमा नयाँ सत्ता समीकरण : लुम्बिनीमा कांग्रेस-एमालेको स्पष्ट बहुमत

प्रदेशमा नयाँ सत्ता समीकरण : लुम्बिनीमा कांग्रेस-एमालेको स्पष्ट बहुमत

बुटवल : संघमा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ।

सत्ता साझेदार दल एमालेले केन्द्रमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै जोखबहादुर महरा नेतृत्वको सरकार संकटमा परेको हो।

०८० चैत २३ गते मात्र माओवादीका जोखबहादुर महारा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमाले, जसपा, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ४८ जना सांसदको समर्थन सहित संविधानको धारा १६८ को उपधारा २ अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यद्यपि जसपा विभाजन पछि जसपा नेपालमा गएकी अम्बिका काफ्लेले असार ९ गते मुख्यमन्त्री महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि महरालाई ४७ सांसदको समर्थन छ।

सरकारको नेतृत्व गरेका मुख्यमन्त्री महरा बनेको ३ महिना पूरा नहुँदै सरकारबाट बाहिरिनुपर्ने स्थिति बनेको हो।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै दलका नेताहरूले प्रदेशमा पनि सत्ता परिवर्तनको छलफलमा जुटिसकेका छन्। एमाले र कांग्रेस नेताहरू केन्द्रको निर्देशन कुरेर बसेका छन्।

लुम्बिनी सरकारमा सामेल भएको एमाले पनि सरकारबाट फिर्ता हुन केन्द्रको निर्देशन कुरेर बसेको छ। एमालेबाट लुम्बिनी सरकारमा पाँच जना मन्त्री छन्।

एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले केन्द्रबाट आउने निर्देशनअनुसार नै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्। यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले संघबाट आउने निर्णय अनुसार नै अघि बढ्ने बताए। संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ।

मुख्यमन्त्री महराले आफैँ राजीनामा नदिए एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सचेतक चौधरीले बताए। एमालेले समर्थन फिर्ता लिएको अवस्थामा महरासँग १८ मात्र सांसद हुनेछन्। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद रहेका छन्।

असार १९, २०८१ बिहीबार ०८:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।