रास्वपा महामन्त्रीबाट मुकुल ढकाल निलम्बित

रास्वपा महामन्त्रीबाट मुकुल ढकाल निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।

ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको प्रष्टीकरण छ।

साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए।

ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो। बुधबार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बन गरेको हो।

बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए।

असार १९, २०८१ बिहीबार ०६:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।