एमालेका मन्त्रीको राजीनामापछि अल्पमतमा प्रचण्ड सरकार, किन संसद फेस गर्न चाहँदैछन् प्रचण्ड ?

एमालेका मन्त्रीको राजीनामापछि अल्पमतमा प्रचण्ड सरकार, किन संसद फेस गर्न चाहँदैछन् प्रचण्ड ?

काठमाडौं : एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वको सरकार अल्पमतमा परेको छ। केहीबेर अघि एमालेका मन्त्रीहरूले राजीनामा बुझाएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो। 

यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो। कांग्रेसले पनि प्रधानमन्त्रीलाई सहजताका साथ राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेको छ।  तर, प्रधानमन्त्री प्रचण्ड भने संसद फेस गर्ने मुडमा छन्। 

माओवादी केन्द्रको मंगलबार बसेको बैठकले कसैले माग्दैमा राजीनामा नगर्ने बरु संसदमा विश्वासको मत लिने प्रक्रियामा सहभागी हुने निर्णय गरेको थियो। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार संविधानमाथि नै प्रहार हुनसक्ने देखिएको कारण प्रचण्ड तत्काल प्रधानमन्त्रीबाट हट्ने मुडमा छैनन्। बरू संसदमा विश्वासको मत लिने तर सहजै कांग्रेस-एमालेलाई सत्ता नसुम्पिने प्रचण्डको तयारी छ। 

संवैधानिक व्यवस्था अनुसार अबको ३० दिनभित्र प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ। यदि प्रधानमन्त्री विश्वासको मत प्रक्रियामा सहभागी हुने हो भने अब उनले पाचौं पटक विश्वासको मत लिने छन्। यसअघि उनले जेठ ७ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मार्सलले घेरेर चौथोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनको पक्षमा १५७ मत परेको थियो।

सोमबार संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर कांग्रेस-एमाले नयाँ गठबन्धन बनाउने सहमति गरेका छन्। 

असार १८, २०८१ बुधबार २१:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।