रास्वपा महामन्त्री ढकालले मुखमा टेप टाँसेपछि सम्झाइएकी रामकुमारी झाँक्री

रास्वपा महामन्त्री ढकालले मुखमा टेप टाँसेपछि सम्झाइएकी रामकुमारी झाँक्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकालले मुखमा टेप टाँसेको विषयले राजनीतिक वृत्तको ध्यान खिचेको छ। बुधबार केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरे। त्यसपछि विभिन्न कोणबाट यसको बहस भइरहेको छ। 

धेरैले यसलाई रास्वपाभित्र वाक स्वतन्त्रता हनन हुने गरेको भनेजसरी टिप्पणी गरिरहेका छन् भने केहीले भने पार्टीको आन्तरिक विषयलाई सार्वजनिक गर्न नहुने भन्दै महामन्त्री ढकालको मागलाई अनावश्यक भने। 

उपनिर्वाचनपछि पार्टीको समीक्षा गर्न ३९ जिल्ला पुगेर बनाएको प्रतिवेदन सार्वजनिक गरेपछि आफूमाथि कारबाही हुनसक्ने भन्दै आत्तिएका महामन्त्रीले बैठक लाइभ गर्न माग पार्टीनै दुई पंक्तिमा उभियो। सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल लगायत नेताले महामन्त्रीलाई कारबाही गरेर जानुपर्ने आशय राख्दैगर्दा सांसदहरू शिशिर खनाल, मनिष झालगायतले त्यसको आलोचना गरे। त्यही सन्दर्भसँग जोडियो महामन्त्रीले मुखमा कालो टेप टाँसेको विषय।

महामन्त्री ढकालको उक्त फोटो सार्वजनिक भएपछि अहिले धेरैले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई सम्झिएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७, पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा आलोचना गरेकी नेतृ झाँक्रीले लोकतन्त्रमा बोल्न पाउनुपर्ने भन्दै आमसभामा कालो टेप मुखमा टाँसेर विरोध गरेकी थिइन्।

त्यसपछि माघ २८ गते तत्कालीन नेकपा नेतृ झाँक्रीले भृकुटीमण्डपमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुखमा टेप लगाएर स्टेजमा गएकी थिइन्। अनि टेप खोल्नुअघि ‘प्रतिगमन मुर्दावाद’ लेखिएको कपडा शरीरबाट झिकेर फालेर भाषण गरेकी थिइन्। मुखमा मास्क लगाएर स्टेजमा पुगेकी झाँक्रीले भाषण गर्नुअघि मास्क झिकेर फालेकी थिइन्।

त्यसपछि उनको मुखमा लगाएको टेप देखिएको थियो। मुखमा लगाएको टेप उप्काएर फाल्दै उनले भनिन्, 'बोल्न पाइन्छ, हामी बोल्न जन्मिएका हौँ।'

ठिक उसैगरी महामन्त्री ढकालले पनि नीलो माक्समा कालो टेप टाँसेर सभापति लामिछानेकै छेउमा बसेर सांकेतिक विरोध गरे। सहमहामन्त्री मनिष झाका अनुसार बैठक लाइभ नगरेर स्वतन्त्रताको हनन् भएको भन्दै ढकालले मुखमा कालो टेप लगाएर बसेका हुन्। 

उनले भने, 'महामन्त्रीज्यूले लाइभ गरिँदैन भने मेरो व्यक्तिगत स्वतन्त्रताको हनन् हो। त्यसैले गर्दा मुखमा कालो टेप लगाएर बस्छु भन्नुभयो। र, कालो टेप लगाउनुभयो।'  

असार १८, २०८१ बुधबार १६:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।