गर्लफ्रेन्डको विषयमा बोले रास्वपा महामन्त्री ढकाल

गर्लफ्रेन्डको विषयमा बोले रास्वपा महामन्त्री ढकाल

काठमाडौं : गर्लफ्रेन्डलाई समानुपातिक सांसद बनाएको भनेर विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले मुख खोलेका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न नपाएको भन्दै मिडियामा सार्वजनिक गरेको प्रस्तावमा उनले गर्लफ्रेन्डको विषयमा स्पष्टिकरण दिएका हुन्।

‘पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो,’ उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘म जान पाइन, एक जना नारी जाने? मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा।’

उनले आफ्नो व्यक्तिगत जीवनको विषयमा पनि सबै कुरा पार्टीले निर्धारण गरिदेओस् भन्दै आक्रोश पोखेका छन्।

उनले थपे, ‘सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढ्नुपर्छ । जसले नियम बनाउँछ, नेताको छोराछोरीले पर्छ कि पर्दैन? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार। पार्टीको नीति अरूका लागि मात्र बन्ने हो कि आफ्ना लागि पनि?’

उनले थपे, ‘नेताहरू सरकारी अस्पतालमा उपचार गराउन पर्ने हो कि होइन? आफ्नो इच्छा अनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो? नीति बनाएपछि पालना गर्न तयार छौँ? नेताको आचरण निर्धारण गरी पालना गर्न सबैजना तयार हुन्छन् भने खुशी हुन्छु।’

उनले आफ्ना लागि मात्र भए पनि नीति बनाउन माग गरेका छन्।

‘मेरा लागि मात्र भए पनि नीति बनाइयोस्। देश छोडेर जा, देशको हित हुन्छ भन्नुहुन्छ भ पनि गइदिन्छु। राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस्।’

पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले गर्लफ्रेन्डलाई समानुपातिक सांसद बनाएको भन्दै आपत्ति गरेका थिए।

असार १८, २०८१ बुधबार १४:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।