प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह, तर एमालेले लिएको छैन समर्थन फिर्ता

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह, तर एमालेले लिएको छैन समर्थन फिर्ता

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले एमालेसँग भएको नयाँ सरकार गठनको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिले एमालेसँगको सहमति अनुमोदन गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको छ,’ महतले भने, ‘दुई ठूला दल मिलिसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ। उहाँले गर्नुहुनेछ।’

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गते राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। सहमतिमा संविधान संशोधन र दुई दलले आलोपालो नेतृत्व गर्ने विषय समेटिएको थियो।

यसअघि मंगलबार बसेको एमाले सचिवालयको बैठकले पनि कांग्रेससँगको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारसम्म राजीनामा दिएर प्रशस्त गर्न आग्रह गरेको थियो।

एकातिर कांग्रेस प्रधानमन्त्री दाहाललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ भने अर्कोतिर नयाँ सरकार गठनका लागि सहमति गरिसकेको एमालेले सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन।

जबसम्म एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, तबसम्म प्रधानमन्त्री दाहालको सत्ता यात्रा लम्बिरहन्छ। समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ।

यदि उनले विश्वासको मत पाउन नसकेको खण्डमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् र नयाँ सरकार गठन हुनेछ।

असार १८, २०८१ बुधबार १२:२६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।