कोपा अमेरिका फुटबल ब्राजिल क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं : कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार विहान भएको खेलमा कोलम्बियासँग एक-एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो। कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ।

क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२औं मिनेटमा अग्रता लिएको थियो। 

तर, पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा कोलम्बियाका डेनियल मुनोजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए।

सोही बराबरी अन्तिमसम्म कायम रहँदा दुवै टिम क्वाटरफाइनलमा पुग्न सफल भयो। कोलम्बियाले ३ खेलबाट ७ अंक बनाउँदा ब्राजिलले समान खेलबाट ५ अंक बनायो।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै तालिकामा ४ अंक बनाएको कोष्टारिका र सबै खेलमा पराजित भएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन्।

बुधबारको खेलसँगै कोपाको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ। अब शुक्रबारबाट सुरु हुने क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा शनिबार विहान खेल्ने छन्।

यसैगरी आइतबार कोलम्बिया र पानामा आमने सामने हुँदा सोही दिन उरुग्वे र ब्राजिल भिड्ने छन्।

असार १८, २०८१ बुधबार ११:४३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।