एमालेसँगको समझदारी अनुमोदन गर्न कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

एमालेसँगको समझदारी अनुमोदन गर्न कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बैठक बुधबार विहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार उक्त बैठकले सोमबार मध्यरातमा एमालेसँग भएको नयाँ सरकार गठनको समझदारीलाई अनुमोदन गर्नेछ।

उनले भनेका छन्, ‘स्थिरता, संविधान संशोधन र आर्थिक विकास लगायतका वृहत्तर राष्ट्रिय हितमा एमालेसँग समझदारी बनेको छ। कार्यसम्पादन समितिको बैठकले त्यो समझदारीलाई अनुमोदन गर्छ।’

सोमबार राति एमाले र कांग्रेसबीच नयाँ सरकार गठनका लागि समझदारी भएको भनिए पनि हस्ताक्षर गरिएको सहमतिको प्रति अहिलेसम्म सार्वजनिक भएको छैन।

त्यसैगरी एमालेले सरकारलाई दिएको समर्थ फिर्ता लिएको छैन। यद्यपि उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्नका लागि भने पार्टीको सचिवालय बैठकबाटै आग्रह गरिसकेको छ।

असार १८, २०८१ बुधबार ०७:३०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।