मणिपाललाई २० करोड छुट दिने निर्णयले अख्तियारको छानबिनमा  पोखराका मेयर आचार्य

मणिपाललाई २० करोड छुट दिने निर्णयले अख्तियारको छानबिनमा  पोखराका मेयर आचार्य

कास्की : पोखरा महानगरपालिकामा मेयर धनराज आचार्य मणिपाल शिक्षण अस्पतालसँग मिलेमतो गरेर नक्सापासमा करिब २० करोड रुपैयाँ छुट दिने निर्णय गरेर भ्रष्टाचार गरेको आरोपमा तानिए।

मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकीको टोली महानगरपालिका पुगेर छापा मारेर नक्सापास छुटबारे महानगर कार्यपालिका बैठक , राजस्व परामर्श समिति बैठक , नक्सापास तथा मणिपालसँग सम्बन्धित महानगरमा भएका कागजात नियन्त्रणमा लियो।

महानगरको २०७९ चैत १० गतेको कार्यपालिका बैठकले मणिपाललाई १९ करोड ८१ लाख रुपैयाँ राजस्व छुटको निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

महानगरले गुपचुप राखेको निर्णय महालेखापरीक्षकको वार्षिक प्रतिवेदनबाट सार्वजनिक भएको थियो। सो विवरण सार्वजनिक भएपछि भ्रष्टाचारमा तानिने भयले मेयरले सो निर्णय खारेजीका लागि प्रक्रिया अगाडि बढाइरहेकै बेलामा अख्तियारले छापा मारेको हो।

महालेखाको प्रतिवेदनमा २१ करोड ५७ लाख असुल गरी दाखिला गर्नुपर्ने उल्लेख थियो। तर महानगरले सम्पत्ति करको रूपमा जम्मा एक करोड ७५ लाख लिएर बाँकी रकम मिनाहा गरिदियो। 

२०७९ माघ २५ को महानगरको राजस्व परामर्श समितिको सिफारिस अनुसार २०७९ चैत १० मा बसेको महानगरको कार्यपालिका बैठकले निर्माण सम्पन्न प्रमाण पत्र लिन चाहेमा दिने निर्णय गरेको थियो। सोही अनुसार मेयर आचार्यले मणिपाललाई निर्माण सम्पन्नको प्रमाणपत्र दिने निर्णयलाई सदर गरेका थिए। निर्णय गर्दा जरिवाना बाहेकको दस्तुर लिई नक्सा पास गर्ने उल्लेख गरिएको थियो।

त्यही निर्णयले मेयर अख्तियारको छानबिनको दायरामा तानिएका हुन्।

असार १७, २०८१ मंगलबार २२:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।