रातारात भएको सहमति अस्वभाविक छ, प्रतिवाद गर्छौं : माओवादी सचिव पौडेल

रातारात भएको सहमति अस्वभाविक छ, प्रतिवाद गर्छौं : माओवादी सचिव पौडेल
फाइल तस्बिर

काठमाडौं : माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाउँ भनेर प्रस्ताव गर्न नमिल्ने बताएका छन्।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले यस्तो बताएका हुन्।

‘दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाउँ भनेर मिल्छ र?,’ उनले भने, ‘जे हो त्यहि भन्नुपर्यो नि! तुरुप एउटा फाल्ने तर काम अर्को गरियो। यसको प्रतिवाद गर्ने निर्णय भएको छ।’

एमाले अध्यक्ष ओलीले दुई दिनसम्म आफूसँग लगातार छलफलमा सहमति नभएको बताएको भन्दै उनले रातारात भएको सहमति स्वभाविक नभएको टिप्पणी गरे।

‘यो रातारात भएको सहमति स्वभाविक छैन। कसरी र किन भयो?’ उनले थपे, ‘प्रधानमन्त्रीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो चार घण्टा एकथरी कुरा गर्नुुभयो, बेलुका अर्कोथरी सहमति भयो। जस्ताको तस्तै भन्देको भए हुन्थ्यो।’

यसैबीच सचिव पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने बताएको पनि सञ्चारकर्मीमाझ जानकारी गराए।

दुई ठूला दल नेपाली कांग्रेस र एमालेले सोमबार मध्यरात नयाँ सरकार बनाउने सहमति गरेसँगै वर्तमान प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। दुई ठूला दलले स्थायित्व र संविधान संशोधनका लागि एक ठाउँमा उभिएको बताएका छन्।

असार १७, २०८१ मंगलबार १२:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।