राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमालेसँग सहमति भएको कांग्रेसको निष्कर्ष

राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमालेसँग सहमति भएको कांग्रेसको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको जनाएको छ।

एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा।प्रकाश शरण महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए।

‘संविधान संशोधन, स्थिरता र आर्थिक विकासका लागि ठूला दलहरु मिल्नुको विकल्प नभएको निष्कर्षमा पुगेर समझदारी भएको हो,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण जुटाएर अघि बढ्न सहमति भयो।’

साथै उनले पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा राष्ट्रपतिकहाँ नगएको पनि प्रष्ट पारे।

उनले थपे, ‘पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिकहाँ पुग्नुभएको छैन।’

कांग्रेसको कार्यसम्पादन समितिको भोलि विहान नौ बजे बस्ने बैठकले दुई दलबीचको समझदारीको निर्णयलाई अनुमोदन गर्ने उनको भनाइ छ।

संविधान संशोधनका लागि दुई तिहाइ सांसदको समर्थन आवश्यक रहेको भन्दै त्यसका लागि अन्य दलहरुसँगको छलफललाई पनि तीव्रता दिइने उनले बताए।

असार १७, २०८१ मंगलबार १०:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।