संविधान संशोधनमा सहमत दललाई नयाँ सरकारमा सहभागी गराइने

संविधान संशोधनमा सहमत दललाई नयाँ सरकारमा सहभागी गराइने

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले संविधान संशोधनमा सहमत दलहरुलाई एमाले नेतृत्वको सरकारमा सहभागी गराइने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत महासचिव पाखेरेलले संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरुपका कानून समेत निर्माण गर्ने गरी एमाले र नेपाली कांग्रेसबीच सहमति भएको बताएका हुन्।

उनले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरुपका कानून समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले र नेपाली कांग्रेसबीच समझदारी। यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने।’

सोमबार मध्यरातमा एमाले र कांग्रेसका नेताहरुबीच संविधान संशोधनका लागि भन्दै नयाँ सरकार गठनका लागि सहमति भएको थियो। दुवै दलबीच सहमति भएसँगै विहानैदेखि राजनीतिक दौडधुप तीव्र भएको छ।

दुई दलबीच भएको सहमतिमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा सुझाव समिति समेत उल्लेख छ।

असार १७, २०८१ मंगलबार १०:२६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।