कांग्रेस र एमालेसँगै विहानैदेखि माओवादी नेताहरूको पनि दौडधूप, बालुवाटारमा आकस्मिक पदाधिकारी बैठक

कांग्रेस र एमालेसँगै विहानैदेखि माओवादी नेताहरूको पनि दौडधूप, बालुवाटारमा आकस्मिक पदाधिकारी बैठक

काठमाडौं : सोमबार राति एमाले कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएसँगै विहानैदेखि तीन दलका नेताहरूको दौडधुप सुरु भएको छ।

सोमबार मध्यराति एमाले र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएसँगै एमाले र कांग्रेससँगै सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरूको पनि दौडधूप बढेको हो।

कांग्रेसले विहान नौ बजे पदाधिकारी बैठक बोलाएको छ। बैठक शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ। एमालेसँग भएको सरकार गठनको सहमतिबारे जानकारी दिनका लागि पदाधिकारी बैठक बोलाइएको हो।

उता मध्यरातमै ढलेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्। बैठक विहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ।

यता एमालेबाट मन्त्री बनेकाहरूले पनि आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिने तयारी गरेका छन्। मध्यरातमा नयाँ सत्ता समीकरण बनेसँगै उनीहरूले मन्त्री पदबाट राजीनामा दिन लागेका हुन्।

मन्त्रीबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको तयारीमा एमाले लाग्नेछ। यद्यपि त्यसका लागि प्रधानमन्त्री दाहालको राजीनामा अनिवार्य छ।

त्यसो हुन नसकेको खण्डमा नयाँ सरकार गठनका लागि एमाले र कांग्रेसले एक महिनासम्म कुर्नुपर्ने हुन्छ।

सोमबार मध्यरात भएको सहमतिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेदेखि संविधान संशोधनसम्मको विषय समावेश छ।

असार १७, २०८१ मंगलबार ०८:१५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।