रास्वपा विवाद : उपसभापति अर्याल पनि महामन्त्रीलाई कारबाही गर्ने पक्षमा

रास्वपा विवाद : उपसभापति अर्याल पनि महामन्त्रीलाई कारबाही गर्ने पक्षमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने चेतावनी दिएका छन्। 

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको भन्दै बुधबार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सो बारेमा निर्णय लिने जिकिर गरे। 

बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने भन्दै यदि महामन्त्री पार्टीको अनुशासन बाही गएको भए कारबाही हुने उनको भनाइ छ। 

'उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो। त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला। त्यसकारणले पार्टी सभापतिज्यूलाई बुझाउनुभएको छ। हामी बैठक बस्दै छौँ। बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौँ। पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागु हुने कुरा हो', उनले भने। 

सञ्चारमाध्यममा महामन्त्रीको प्रतिवेदन छरपस्ट भइसकेको भएपनि आफूहरूले हामीले प्रतिवेदन नपढेको उनको भनाइ छ। 

उनले भने, 'हामीले प्रतिवेदन पढेका छैनौँ। पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ। त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ।'

बुधबार गएको उपनिर्वाचनपछि समीक्षा यात्रामा देश-दौडाहा गरेका महामन्त्री ढकालले पार्टीको वर्तमान अवस्थाबारे एक प्रतिवेदन तयार पार्दै रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरेका थिए। सोही प्रतिवेदन सभापति लामिछानेलाई बुझाउनु अघि सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

यसै विषयमा गत शुक्रबार महामन्त्री ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो। 

त्यसपछि रास्वपाभित्र दुइवटा धार बनेको छ। सांसदहरू मनिष झा, शिशिर खनाल लगायतले महामन्त्रीको प्रतिवेदन विश्लेषण गरेर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् भने सभापति लामिछाने, उपसभापति अर्यालसहितका नेताहरू महामन्त्रीलाई कारबाही गरेर अघि बढ्नुपर्नेमा देखिए।  

रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्दै महामन्त्रीमाथि कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय लिन आगामी बुधबार केन्द्रीय समितिको बैठक डाकेको छ।  

असार १६, २०८१ सोमबार १९:०३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।