लुम्बिनी प्रादेशिक अस्पतालको मेसुको रूपमा काम गर्न डा ढकाललाई सर्वोच्चले रोक्यो

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुको रूपमा काम गर्न डा ढकाललाई सर्वोच्चले रोक्यो

काठमाडौँ : सर्वोच्च अदालतले डा. इन्द्र ढकाललाई लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गर्न रोक लगाएको छ। सर्वोच्च अदालतले उनको नियुक्ति विरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएर उनलाई मेसुको रूपमा काम गर्न रोक लगाएको हो।

यसअघिका मेसु डा. विष्णु गौतमको निवेदनमा लुम्बिनी प्रदेश सरकारलाई विपक्षी बनाइएको उत्प्रेषणसमेत मुद्दामा न्यायाधीश विनोद शर्माको एकल इजलासले नियुक्तिपछिको सबै जिम्मेवारी आर्थिक र प्रशासन हेर्ने गरी गरिएको पत्राचार कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्दै प्रत्यर्थीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो।

मन्त्रीस्तरिय निर्णयबाट १० औँ तहका शर्मालाई मेसुको रूपमा नियुक्त गरेपछि डा विष्णु गौतम सर्वोच्चमा गएका थिए। गौतम ११ तहका हुन्। मेसुका लागि ११ तह आवश्यक हुने भए पनि आफूलाई हटाएर आफूभन्दा कनिष्ठलाई नियुक्त गरेको भन्दै गौतम सर्वोच्चमा आए।

२०७८ पुस १ मा नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ समूहमा रहेका डा. गौतम मेसुमा नियुक्त भएका थिए। उनलाई हटाएर जेठमा मन्त्रीले वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन दश तहका डा. इन्द्र ढकाललाई नियुक्त गर्दै  प्रादेशिक अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकियो।

गौतमले दायर गरेको रिटमा अदालतले सो मुद्दा छलफलबाट टुङ्गो नलाग्दासम्म डा. ढकाललाई आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको निर्णय/कामकारबाही/पत्राचार कार्यान्वयन नगर्न र यथास्थितिमा राख अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

 आन्तरिक प्रतिस्पर्धाबाट ११ औँ तहमा बढुवाको सिफारिसमा परेका उनी विरुद्ध प्रशासनिक अदालतमा रिट परेपछि अदालतले बढुवाका लागि अयोग्य भन्दै सिफारिस खारेज गरेको थियो।

सम्बन्धित समाचार

असार १६, २०८१ सोमबार १८:२८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।