एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले पार्टी पदाधिकारीहरूलाई भने 'संवाद सकारात्मक छ’

एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले पार्टी पदाधिकारीहरूलाई भने 'संवाद सकारात्मक छ’

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको छलफल सकारात्मक भएको जानकारी दिएका छन्। सोमबार उनकै निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनले शनिवार भएको भेटबारे जानकारी गराएका हुन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा शनिवार बालकोटमा एमाले अध्यक्ष ओलीसँग भएको भेटबारे बैठकमा जानकारीदिँदै देउवाले सकारात्मक कुराकानी भएको बताएको पत्रकारहरुलाई जानकारी दिए।

 'ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको र सकारात्मक कुरा भएका छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौँ' उनले भने।

नेविसंघलगायत भ्रातृ संस्थाका म्याद असार १५ गते सकिएकाले म्याद थपबारे समेत छलफल भए पनि कुनै निर्णय भने भएन। बैठक ओलीसँगको छलफलमै केन्द्रित भएको थियो।

ओली र देउवाबीचको छलफल सत्ता समीकरण बदल्ने विषयमा केन्द्रित भएसँगै अहिले सत्ताधारी प्रमुख दुई दल एमाले र माओवादी केन्द्रको नेतृत्व दैनिक छलफलमा बसिरहेको छ। आइतबार पनि ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यालयमा छलफल भएको थियो।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बरन्डामा छलफल भयो। लामै समय भएको छलफलमा ओलीले वर्तमान गठबन्धनबाट बाहिर जाने योजना नरहेको दाबी गरे पनि प्रचण्डलाई आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न आग्रह गरेर देउवासँग भएको छलफलको विषयबारे जानकारी गराएका छन्।

राजनीतिक तहमा समीकरण बदल्न बढेको व्यस्तताको प्रभाव मन्त्रीहरूमा समेत पर्न थालिसकेको छ। जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी बनाउँदै स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले सोमबार आयोजित पत्रकार सम्मेलनमा साउनसम्म टिक्न सकेमा धेरै काम गरेर देखाउने भन्दै आन्तरिक रूपमा सरकारको समीकरण बदल्न भइरहेको संवादको प्रभावको सङ्केत गरेका थिए।

सत्ता बदल्ने दौडबारे समाचार

असार १६, २०८१ सोमबार १७:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।