फेसबुकबाट साथी बनाएर पाहुना लाग्न जाने अनि गरगहना चोरेर फर्किने गरेको आरोपमा महिला पक्राउ

फेसबुकबाट साथी बनाएर पाहुना लाग्न जाने अनि गरगहना चोरेर फर्किने गरेको आरोपमा महिला पक्राउ

काठमाडौं : सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न रौतहटको चन्द्रपुर नगरपालिका–१२ की दिपा थापालाई पक्राउ गरेको हो। 

पाँच दिनअघि पक्राउ परेकी दिपाले फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको उजुरीका आधारमा पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए। उनका अनुसार दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। 

एसपी थापाले भने, 'फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ। साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो।'

प्रहरीको अनुसन्धानका क्रममा दिपा काठमाडौंलगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ। पोखरामा अन्य व्यक्तिको घरमा पनि त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन्।

चोरी मुद्दामा दिपामाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

असार १६, २०८१ सोमबार १६:३६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।