'जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहन्नँ'

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने दाबी गरेकी छन्। आफू शिक्षामन्त्री रहुन्जेल यो क्षेत्रमा दलीय राजनीति हुन नदिने उनको दाबी छ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले भनिन्, 'जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहन्नँ। दलीय राजनीति हटाएरै छोड्छु।'
उनले राजनीतिक दलको भातृ संस्थाले तालाबन्दी गर्ने प्रवृत्ति ठिक नभएको बताइन्।
विद्यालयमा तालाबन्दी गरेर विद्यार्थीको पढ्ने अधिकार कसैले खोसे कारबाही गर्ने र त्यो नीति बनाउँदै गरेको उनको भनाइ छ।
'शिक्षा क्षेत्रलाई जोन अफ पिस बनाऊँ। आफ्नो निर्वाचन क्षेत्रमा टिचर गएको छ/छैन हेरौँ र छैन भने फोन गरेर जानकारी दिनुस्। कारबाही त गर्नुपर्यो नि,' उनले भनिन्।
त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयको अधिकार क्षेत्रको जग्गा खोजी गर्न शारदाप्रसाद त्रितालको नेतृत्वमा समिति बनाइएको जानकारी दिइन्।
विश्वविद्यालयको उक्त जग्गाबारे समितिले तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने र प्रतिवेदनपश्चात् सरकारले आवश्यक कारबाही अघि बढाउने उनको भनाइ छ।
असार १७, २०८१ सोमबार १५:२६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।