सोल्टी होटलका डकर्मी मुक्तार, जसले आठ रुपैयाँ ज्यालादेखि ८० हजार तलबसम्ममा काम गरे

सोल्टी होटलका डकर्मी मुक्तार, जसले आठ रुपैयाँ ज्यालादेखि ८० हजार तलबसम्ममा काम गरे

सन् १९७८ सालमा १७ वर्षीय मुक्तार सिंह भारतको बिहारबाट काम गर्नकै लागि भनेर काठमाडौं आए। गाउँबाट आएका २५ जना डकर्मीले बन्दै गरेको सोल्टी होटलमा काम पाए। तर उनले पाएनन्। त्यहि बेला रसियन दूताबास बनिरहेकाले उनी त्यता खटिए।

सुरुमै डकर्मी काम नपाएपछि सहयोगी भएर गिट्टी, बालुवा र सिमेन्टको मसला ओसार्न थाले। गाउँले र छिमेकी सोल्टीमै काम गर्दा उनी भने ताहाचलबाट हिँडेर रुसको दूतावास महाराजगञ्ज पुग्थे। गाडी नचल्ने होइन तर उनी भाडामा खर्च हुने ४० पैसा जोगाउन चाहन्थे।

‘आठ रुपैयाँ दिनको ज्याला आउँथ्यो। रानीपोखरीबाट महाराजगञ्ज हिँडेर गयो भने ४० पैसा बच्थ्यो नि!,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘रसियन एम्बेसीमा दुई महिना जति गरेपछि न्यूरोडको राष्ट्र बैंकमा काम गरेँ। त्यसबेला त काठमाडौं अहिले भन्दा निकै चिसो थियो। पानी बाहिर राख्दा जम्थ्यो। कपडा सुक्न धेरै समय लाग्थ्यो।’

राष्ट्र बैंकसँगै ठमेलको काठमाडौं होटलमा पनि डकर्मी काम गरे उनले। अहिले भने काठमाडौं होटल त्यहाँबाट विस्थापित भइसक्यो। एकपछि अर्को भवनहरू बनाउने काम पाइरहेका उनले सोल्टी होटलबाट ठेकेदार बाहिरिएपछि नयाँ ठेकेदार आएको थाहा पाए। मुक्तार पनि कामको आशमा गए।

पहिलो दिन उनलाई एक दिनको कामका लागि बोलाइएको रहेछ। त्यसअघि टायलको काम नगरेका उनलाई टायल हाल्न लगाइयो। अर्को साथीले टायल काटेर मिलाएर दिएपछि उनी खुरुखुरु सिमेन्ट राखेर त्यो टायल टाँस्ने काम गर्थे। बेलुका ठेकेदारले गरेको अनुगमनमा उनी पास भए अनि लगातार सोल्टी होटलमै काम गरे।

‘एक दिनको लागि भनेर गएको। उसले पछि रोज दिन आउनु भन्यो। ज्याला पनि १८ रुपैयाँ पाएँ। ७,८ वर्ष गरेपछि लिमिटेडबाट कम्पनीमा आयो नि! ओभरोय कम्पनीले यहाँको सब काम हेर्थ्यो,’ उनले एकैपटकमा भने, ‘कम्पनीमा आएपछि त बनाउनेदेखि, मर्मत गर्नेसम्म हामी आफैँ जाने हो। कामको कुनै कमी भएन। सबै इन्जिनियरले मलाई खुब माया गर्थ्यो। प्लास्टर गर्ने, कतै प्वाल टाल्ने, कहिँ गाह्रो लगाउने, मार्बल लगाउने, टायल लगाउने सब काम गर्यो।’

३२ वर्ष स्थायी डकर्मी
उनले काम गरेको आठ/दश वर्षमै डकर्मीको ज्याला बढेर सय रुपैयाँ पुगिसकेको थियो। तर, मुक्तारले भने दैनिक चालिस रुपैयाँ मात्र पाउँथे। उनले सिधै काम नगर्ने भन्दै ‘यति पैसाले मेरो पेट पाल्नै दिक्कत भयो’ भनिदिए।

सोल्टीमा डकर्मीहरूमाझ स्थायी जागिरको कुरा चल्यो। ४० रुपैयाँको दरले पनि महिनामा १२ सय हुन आउँथ्यो। तर स्याथी डकर्मीलाई महिनाको हजार रुपैयाँ दिने भनियो। सुरुमा उनले मानेनन्। तर, संचय कोष, नागरिक लगानी कोष र अनुदान पनि पाउने, कामको पनि कमि नहुने भएपछि उनले माने।

दुई जना रङ लगाउने, दुई जना सिकर्मी र मुक्तारलाई होटलले स्थायी गर्ने पनि भनियो। तर, उनी भारतीय नागरिक भएको कारण श्रम स्वीकृति लिएर कामको अनुमति लिन पर्यो। जसको लागि होटेलले मिस्त्री चाहियो भनेर पत्रिकामा विज्ञापन नै छापेर काम गर्न दिइयो।

‘मेरो लागि होटलले त्यतिसम्म गर्यो। म धेरै खुसी भएँ। पछि मलाई १२ सय रुपैयाँ तलब पनि दियो,’ खुसी हुँदै उनले भने, ‘इमान्दारिता र मिहेनत भनेको त्यस्तो हुने रहेछ। त्यसबेला देखि यहाँ काम गरेको। पछि २०२० मा निस्किँदा मेरो तलब ८० हजार थियो।’

होटलको विभिन्न भाग बन्दै गर्दा उनको काम पनि बढ्दै गयो। आफूले राम्रो काम गर्दा धेरै साथीहरूले रिस गरेको समेत उनले अनुभव गरेका छन्। त्यै भएर उनले पार्टटाइम काम गर्ने पनि सोचे। नभन्दै याक एण्ड यति होटलमा पनि उनले मिस्त्रीको काम पाए। साँझ पाँच बजे सोल्टीबाट निस्केर उनी सिधै याक एण्ड यति पुग्थे। दिनरात एक गरेर उनले काम गरे। सुरुमा त आठ दिन, आठ रात काम गर्दा उनी ढले पनि।

डाक्टरले आराम गर्न सुझाव दिएपछि उनले याक एण्ड यतिमा काम गर्न छोडे। अनि कुनै ठाउँमा आबद्द भएर भन्दा पनि फाट्टफुट्ट भेटेको काम पनि गर्न थाले। जागिरसँगै उनले ताहाचलमा मसला पसल पनि खोल्न भ्याए।

होटलमा त उनको काम हुन्थ्यो नै! बाँकी समयमा उनले पसल पनि खोले। कृष्ण प्रसाद भटराई प्रधानमन्त्री हुँदा संस्थाले चाहेको खण्डमा विदेशीलाई स्थायी रूपमा काममा राख्न सकिन्छ भन्ने निर्णय आयो। अनि उनले श्रम स्वीकृति लिइराख्न परेन। कोभिडको समयमा होटलले इच्छुक व्यक्तिलाई काम छोड्न भन्यो अनि उनले पनि अवकाश पाउनुभन्दा पाँच महिनाअघि राजीनामा दिए। उनले सोल्टी होटलमा ३२ वर्ष त स्थायी जागिरे भएर काम गरे।

‘मिहिनेत गरे कोहिसँग डराउनु पर्दैन’
‘अहिले सोच्दा पो मैले धेरै म मिहिनेत गरेछु भन्ने लाग्यो। धेरै रमाइलो यादहरू भयो। काम पनि मैले रमाइलो मानेर गरेँ,’ उनी सुनाउँदै गए, ‘सन् १९८७ मा नेपाल भारतको सन्धी भएको थियो। त्यसबेला यहाँ इन्डियाको मान्छेलाई कुट्न थाले। तर, मलाई होटलको मान्छेले तिमी यहिँ बस कहिँ जान पर्दैन भन्यो।’

त्यसबेला उनको गाउँको धेरै साथीहरू नेपाल छोडेर गएका थिए रे।

‘४५ वर्ष भयो यहाँ रमाएर बसेको। मलाई चैँ कसैले नराम्रो भनेन, गरेन। काम पनि गाह्रो होइन। मलाई सिक्नु थियो। केहि गर्छु भन्ने थियो। काम पाएँ। गर्दै गएँ। जवानी हुँदै अहिले त बुढापनसम्म आइपुगेछु,’ खुसी हुँदै उनले भने, ‘खुरुखुरु काम मात्र गरेँ। कामबाट सबै जना खुसी पनि भयो। त्यहि बेला मलाई मेरो साहुले मुक्तार सिंह तिमी कसैसँग पनि नडराउनु भनेको थियो। म त झन् रमाएर काम गर्न थाले नि!’

अहिले उनी ताहाचलमा मसला पसल चलाएर बसिरहेका छन्। फाट्टफुट्ट काम आयो भने मिस्त्री काम गर्न जान्छन्। तर प्राय पसलमै बस्छन्। पसलमा उनकी श्रीमतीले पनि सघाउँछिन्। तीनवटा बच्चालाई पढाएर विवाह गरिदिइसके। सन्ताको विवाहपछि पहिलाभन्दा धेरै फुर्सद भएको उनी बताउँछन्।

बेलाबेला गाउँ पनि जाने गर्छन्। अहिले गाउँको उनको घरमा ताल्चा लागेको छ। उनको बा आफैँ कमाउने, आफैँ खाने गर्थे। घरको स्थिति र बा’को अवस्थाले गर्दा सबै जिम्मेवारी उनको दाइले लिए। पछि दाइले मुक्तारलाई पनि काम गर्न नेपाल जाउँ भनेपछि उनी यहाँ आएका रहेछन्।

‘आमा बुढो हुनुहुन्थ्यो। घरमा बहिनी र म मात्र बिहे गर्न बाँकी थियो। म सात कक्षामा पढ्दै गर्दा दाइले अब तलाई पाल्न सक्दैन। आफैँ कमा भन्यो। अनि कमाउनै पर्यो’, उनी बोल्दा बोल्दै रोकिए।

उनले उतै पनि हलो जोत्नेदेखि डकर्मीको सहयोगी नै भएर काम गरेका थिए। जति सकेको मिहिनेत गरे। अहिले पसलमा पहिलाको जस्तो राम्रो व्यापार नभए पनि ठिकै रहेको उनले सुनाए। दशैं, तिहारको बेलामा त उनलाई अझै पनि भ्याइनभ्याइ हुन्छ। अहिले ‘मार्ट’हरु खुलेर आफ्नो व्यापारमा कमी आएको उनको बुझाइ छ। मसला पसलमै विहान-बेलुका तरकारी पनि बेच्ने गरेका छन् उनले।

बिहान सात बजेदेखि बेलुका नौ बजे सम्म उनी पसलमै हुन्छन्। अब पसलमा केहि सामानहरू थप्ने उनको योजना छ।

‘जे होस् मनमा लागेको सबै कुरा मैले गरेको छु। म खुसी पनि छु। पछि गाउँ गयो भने पनि पसल नै राख्छु। त्यता अहिले पसलको माहोल पनि छ,’ उनले भने, ‘बालापन, जवानी, बुढोकाल यहिँ बित्यो। हाम्रो जिन्दगी भनेको त माया नगरी रहेछ। यो माया नगरीमा खाने, खिलाउने। आफू खुसी हुने अनि अरुलाई खुसी बनाउने।’

असार १७, २०८१ सोमबार १४:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।