छुटेका पत्रकारले सदस्यता नपाएसम्म प्रेस युनियनले आन्दोलन जारी राख्ने

छुटेका पत्रकारले सदस्यता नपाएसम्म प्रेस युनियनले आन्दोलन जारी राख्ने

काठमाडौँ : नेपाली कांग्रेस निकट पत्रकारहरूको सङ्गठन नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको विधान अनुसार सदस्यताका लागि योग्य भए पनि आस्थाका आधारमा सदस्यता नपाएकाहरूलाई सदस्यता नदिएसम्म आन्दोलन जारी राख्ने बताएको छ।

महासङ्घले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै युनियनले सोमबार देशभरका महासङ्घका कार्यालय अगाडि धर्ना दिएको छ।

युनियनको समूहले केन्द्रदेखि जिल्लासम्मका महासङ्घको कार्यालयमा धर्ना दियो। युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले महासङ्घले निर्वाचन प्रक्रियाका लागि भन्दै सदस्यता सार्वजनिक गरे पनि त्यो अमान्य रहेको बताए।

‘निर्वाचन समितिले सार्वजनिक गरेको सदस्य सूचीमा जिल्ला र प्रदेशबाट सिफारिस भएको पत्रकारहरूको ठुलो सङ्ख्यामा सदस्यता छुटेको छ। जिल्ला र प्रदेश नै नचिनेका र नदेखेका केही मान्छेहरूको नाम बाहिरबाट थपिएको छ। त्यसले पत्रकार महासङ्घको सदस्यता हो भनेर नामावलीलाई मान्न सक्ने अवस्था छैन,’उनले भने,‘हामी महासङ्घको सदस्यता जिल्ला प्रदेशबाट सिफारिस भएको अथवा केन्द्रीय कार्यालयको आफ्नो स्थायी संरचनाहरूबाट आएका सदस्यहरूलाई कायम गर्नुपर्छ र त्यसले निर्वाचन गर्नुपर्छ भन्ने अडानमा छौँ।’

अध्यक्ष लम्सालले महासङ्घले बाहिरबाट मान्छे थपेर मतदाता सूची तयार गरेर निर्वाचन गर्ने दुस्साहस गरेको भन्दै त्यसका विरुद्ध आफूहरूले आन्दोलन गर्नुपरेको बताए। छुटेका पत्रकारहरूले सदस्यता नपाउने बेलासम्म आन्दोलन जारी रहने उनले बताए।

उपाध्यक्ष सलोजा दाहालले जिल्ला र प्रदेशबाट सिफारिस भएका बाहेक अन्य तरिकाले केन्द्रबाट सदस्यता झिक्ने र राख्ने काम नै गलत भएको बताइन्।

वास्तविक र क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गराएर निर्वाचनमा जान नसक्ने भएकाले आन्दोलनमा जानुपरेको उनको भनाइ थियो।

युनियनले महासङ्घका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्ने, महासङ्घका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्ने, प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, महासङ्घलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने माग राखेको छ।

एमाले निकट नेपाल प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठन लगायतका अन्य सङ्गठनहरू भने महासङ्घको निर्वाचन समितिले जारी गरेको मतदाता नामावलीको आधारमा निर्वाचन गर्न माग गर्दै आएको छ।

असार १६, २०८१ सोमबार १३:५९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।